| बुधबार, कार्तिक २५, २०८३

पालुङ्टारस्थित पोलिटेक्निक इन्स्टिच्यूटमा तालाबन्दी

पालुङ्टारस्थित पोलिटेक्निक इन्स्टिच्यूटमा तालाबन्दी भएको छ । त्यहाँ शिक्षण गर्ने शिक्षक आशिष रानाभाटले इन्स्टिच्यूटको प्रशासन, लेखा र परीक्षा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

अरु सबैको करार सम्झौता नवीकरण हुँदा आफ्नो मात्र नभएको भन्दै तालाबन्दी गरेको उनले बताएका छन् । ‘प्रिन्सिपल सरले बिना कारण, व्यक्तिगत रिसिबीले मेरो करार सम्झौता नवीकरण गर्नुभएन । म आफ्नो कार्यालय जान लाग्दा सुरक्षा गार्डले गेटभित्र छिर्न दिएनन् । अनि मैले म संवद्ध नेपाल राष्ट्रिय कर्मचारी संगठनसंग सल्लाह गरेर तीनवटा कार्यकक्षमा ताला लगाइदिएको हुँ’, रानाभाटले भने, ‘मेयरसाव, सिडियोसाव, वडाअध्यक्ष र प्रिन्सिपल रहेको सञ्चालक समिति हुन्छ ।

समितिको निर्णय नगरी कानून विपरीत मलाई निष्काशन गर्न खोजेकाले मैले तालाबन्दी गरेको हुँ । यदि समितिले उचित कारण देखाएर निर्णय गर्छ भने एकछिन पनि बस्नेछैन तर एकजनालाई मन परेन भन्दैमा निकाल्न पाइँदैन ।’ आफूलाई अपमानजनक ढंगले निश्कासन गर्न खोजेको बिरोधमा ताला लगाएको उनले बताए । प्रिन्सिपलले आफ्नो भ्रष्टाचार ढाकछोप गर्न आफूलाई निश्कासन गर्न खोजेको उनले आरोप लगाए ।

इन्स्टिच्यूटका प्रिन्सिपल प्रदीप बसौलाले भने आफूले परामर्श लिनुपर्ने सबै निकायबाट सुझाव लिएर शिक्षक रानाभाटको करार सम्झौता भंग गरेको बताएका छन् । ‘अघिल्ला बर्षहरुदेखि धेरै उहाँसम्बन्धी धेरै गुनासाहरु आए । सच्चिनका लागि बारम्बार सुझाव दिँदा अटेरी गरेकाले करार सम्झौता भंग गर्न बाध्य भएको हुँ’, उनले भने, ‘इन्स्टिच्यूटलाई बदनाम हुन नदिई सुचारु गर्न यो निर्णय नगरी बिकल्पै थिएन । त्यसैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ ।’ संस्थाको नीति, नियम, प्रक्रिया सबै पूरा गरी यो निर्णय गरिएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्