
मुद्धा फिर्ता लिने विद्येयकका विरुद्धमा शान्ति समाजको विरोध प्रदर्शन
हिंसालाई बढावा दिने गरी ल्याइएको मुद्धा फिर्ता लिने विधेयकको विरुद्धमा मानव अधिकार तथा शान्ति समाजले गोरखा सदरमुकामा विरोध प्रदर्शन गरेको छ ।
मंगलबार गोरखा सदरमुकामको हरमटारीमा सो विधेयक खारेजी गर्न माग गर्दै समाजले विरोध गरेको हो ।
संसदमा उक्त विधेयक पास भएमा हिंसालाई वैधानिक प्रदान गर्ने खतरा हुने, मानव अधिकार र लोकतन्त्रको मूल्य खण्डित हुने, संक्रमणकालिन न्याय प्रक्रिया तुहिने र कानुनी शासन र न्यायिक सर्वोच्चतामा आघात पुग्ने बताइएको छ ।
हिंसात्मक राजनीतिलाई मलजल पुग्ने भएकाले उक्त विधेयक खारेज हुनुपर्ने समाजको माग रहेको छ । कार्यक्रममा समाजका केन्द्रीय सचिव सिताराम तिवारीले समाजको अवधारण प्रस्तुत गरेका थिए ।
मानव अधिकार तथा शान्ति समाज गोरखा शाखाका अध्यक्ष गोमा दुवाडीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।




