
साना सहरी खानेपानी उपभोक्ता संस्थाले महसुल घटायो
गोरखा बजारमा पानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तासंग असुल्दै आएको महशुलमा ५० रुपैयाँ घटाएको छ । गत असार ३० गते सम्पन्न साधारण सभाले निर्णय गरेर उपभोक्ताहरुलाई महशुल घटाइएको संस्थाका उपाध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।
‘गण्डकी प्रदेश सरकारले लिफ्टिङ खानेपानी आयोजनाहरुलाई विद्युत महशुलबापत लाग्ने रकमको २५ प्रतिशत रकम उपलब्ध गराएको छ’, सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सरकारले दिएको अनुदान त पक्कै पनि उपभोक्ताहरुलाई राहत पुगोस् भनेर हो ।
त्यसैले हामीले उपभोक्तालाई राहत होस् भन्ने उद्देश्यले महशुलमा ५० रुपैयाँ घटाउने निर्णय गरेका छौँ ।’ अबदेखि न्यूनत्तम तीनसय रुपैयाँ लाग्नेमा दुईसय ५० रुपैयाँ मात्र निर्धारण गरिएको उनले बताए ।
खानेपानी लिफ्टिङ गरेबापत उठेको कूल विद्युत महशुलको २५ प्रतिशत रकमबापत प्रदेश सरकारले साना सहरी खानेपानी उपभोक्ता संस्थालाई नौ लाख ७१ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
सो संस्थाका लागि खानेपानी तथा सरसफाइ विभागले छ करोड रुपैयाँ बराबरको योजना दिने भएको छ । देशभरका साना सहरी खानेपानी आयोजनाहरुलाई दिने योजना अनुसार पृथ्वीनारायण साना सहरी खानेपानी उपभोक्ता संस्थाका लागि छ करोड रुपैयाँ दिने निर्णय भएको संस्थाका सचिव रामशरण आचार्यले जानकारी दिए । सो बजेटबाट चारलाख घनमिटरको रिजर्भभ्वायर ट्याङ्की बनाउने योजना रहेको उनले बताए । साथै प्रभावित क्षेत्रभित्र १७ हजार दुईसय मिटर पाइप बिछ्याउने, मुहान संरक्षणको काम गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।
साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले महशुल संकलन कार्यलाई चुस्त बनाएको छ । ‘यसअघि महशुलबापत मासिक करिब आठलाख रुपैयाँ संकलन हुन्थ्यो’, संस्थाका लेखा समितिका संयोजक सुशील अर्यालले भने, ‘हाम्रो नयाँ समितिले जिम्मा लिएपछि १० लाख, १२ लाख, १७ लाखसम्म संकलन गर्न सफल भएका छौँ । महशुल नतिर्ने ग्राहकको मिटरमा सिल गर्ने निर्णय भएको छ ।’ हाँकोडाँको ठूलो हुनेले महशुल नतिर्ने प्रवृत्ति अझै रहेको उनको भनाइ छ ।
‘बिगतदेखिको इतिहास हेर्दा ठूलाबडाले महशुल नतिर्ने, साधारण ग्राहकले मात्र तिरिरहेको रहेछन्’, अर्याल भन्छन्, ‘त्यसैले हामीले अब महशुल नतिर्नेको मिटरमा सिल गर्ने निर्णय गरेका छौँ ।’ जिल्ला प्रशासन कार्यालयले तिर्न बाँकी रहेको ७५ रुपैयाँ पनि असुल गरेको भन्दै नगरपालिका कार्यालयले तिर्न बाँकी रहेको लाखौँ रकम पनि अब छिट्टै असुल गर्ने उनले बताए ।
‘यसपटक हामीले नगर विकास कोषलाई २५ लाख रुपैयाँ ऋण तिर्न सफल भयौँ’, उनले भने, ‘अब कोषलाई चार करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । हामीले संस्थाको जिम्मेवारी सम्हाल्दा चारलाख रुपैयाँ मात्र खातामा थियो, तर अहिले हामीले ३१ लाख ४६ हजार रुपैयाँ जम्मा गरेका छौँ । बिगतको बेथितिलाई अन्त्य गर्दै हामीले धेरै राम्रा कामको थालनी गरेका छौँ ।’
पानी शुद्धिकरणका लागि डोजिङको व्यवस्था गरेको, पानी परीक्षणका लागि ल्याब संचालनको तयारी गरेको संस्थाले जनाएको छ ।




