| बुधबार, कार्तिक २५, २०८३

धार्चेको लाक्पाल र दाम्चेतको बस्ती स्थानान्तरण गर्न र गाउँमा ढुंगा छपनीका लागि बजेट बिनियोजन

धार्चे गाउँपालिकाले यस आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल ४८ करोड ५२ लाख ९१ हजार ५ सय बजेट तथा कार्यक्रम घोषणा गरेको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा कृषि क्षेत्रका विकासका लागि उत्पादनमा आधारित अनुदान, पालिका भित्रका सडकको स्तरउन्नति र भवनमा मुख्य प्राथमिकता दिएको छ ।

गाउँपालिकाले घोषणा गरेको बजेट तथा कार्यक्रममा आर्थिक विकासतर्फ तीनकरोड ७६ लाख ४४ हजार, सामाजिक विकास तर्फ २४ करोड ३० लाख, पूर्वाधार विकासतर्फ १० करोड ७१ लाख २३ हजार, वन तथा वातावरण क्षेत्रमा ६८ लाख र संस्थागत विकास ९ करोड ७ लाख २४ हजार रकम विनियोजन गरेको छ ।

गाउँपालिकाले कृषितर्फ उत्पादनमा आधारमा नगद अनुदानका लागि १४ लाख, धार्चेमा उत्पादन बस्तुको काठमाडौमा बजारीकरणका लागि ८ लाख, कम्पोस्ट मल निर्माण तथा तालिमका लागि ५ लाख विनियोजन गरेको छ । सिचाईका लागि १५ लाख, पशु सेवातर्फ मासुजन्य उत्पादनको आधारमा नगद अनुदानका लागि २० लाख, गोठालोलाई त्रिपाल वितरणका लागि १० लाख, उन कात्ने कैची तथा चर्खा वितरण र उन्नत जातका ब्याड बोका वितरणका लागि ४÷४ लाख रुपैया विनियोजन गरेको छ ।

उद्योगतर्फ १० लाख, पर्यटनतर्फ जसमा लिदिङ धुनिखोप जिपफ्लायर र क्यानोनिङ÷¥याफ्टिङ÷रक क्लाइम्पिङका लागि ४÷४ लाख, तातोपानी उहिया बेसी, यारुबगर गणेश हिमाल बेसक्याम पर्यटन पथ र नमुना बस्ती नादुरडाँडा पर्यटन पूर्वाधार डिपिआरका लागि ५÷५ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै, सुत्केरी भान्सा घर व्यवस्थापन कार्यक्रमका लागि ३ लाख, दलित स्वास्थ्य बिमाका लागि ४ लाख, एकल महिला तथा जेष्ठ नागरिक जिबिकोपार्जन कार्यक्रमका लागि ८ लाख, बस्ती स्थानान्तरण लाक्पाल र दाम्पचेतका लागि ३० लाख, जडीबुटी बेर्ना वितरणका लागि तीनलाख, खोर्लाबेसी पहिरो नियन्त्रणका लागि ५ लाख, विभिन्न वडाका सडक निर्माणका लागि २ करोड ९६ लाख विनियोजन गरेको छ ।

यस्तै, पालिकाभित्र वडागत रुपमा वडा न. १ हुल्चुकमा मोटरबाटो, गोरेटोबाटो, घेराबार निर्माण कार्यलाई प्राथमिकता दिदै ४० लाख बजेट विनियोजन गरिएको छ । वडा न. २ केरौजामा सडक, खेलमैदान, कुलो निर्माणमा जोड दिदै ६० लाख बिनियोजन गरिएको छ भने वडा नं ३ उहियामा सडक स्तरउन्नति, मोटर बाटो निर्माण, गोठालालाई त्रिपाल खरिद कार्यलाई जोड दिदै ५० लाख बजेट छुट्याएको छ । वडा नं ४ लाप्राकमा सडक स्तरउन्तति, शौचालय निर्माण, फोहोर मैला व्यवस्थापन, वृक्षारोपण, कोसेली घर व्यवस्थापनमा जोड दिदै ७० लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै, वडा न ५ गुम्दामा शाखा सडक निमांण, गुम्दा ढल निकास तथा मर्मत, भवन तथा विद्यालयको शौचालय निर्माणमा जोड दिदै ८० लाख र वडा नं ६ काशीगाउँमा सडक स्तरउन्नति, गोरेटो बाटो, चर्चको घेराबार, खानेपानी सामग्री खरिद कार्यलाई जोड दिदै ५५ लाख रुपैया बजेट विनियोजन गरिएको छ । वडा नं ७ लापुमा सडक स्तरउन्नति, घेराबार, गोरेटो बाटो निर्माण, गाउँमा ढुँगा छपनीमा जोड दिदै ५५ लाख रुपैयाको बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्