
उत्तरी गोरखामा नाकाबन्दीले दैनिक उपभोग्य बस्तुको भाउ आकासियो
कोरोना महामारीको बहानामा चीन सरकारले गरेको नाकाबन्दी कोरोना साम्य भइसक्दा पनि खुलाएको छैन । २०७६ सालको पुसदेखि गरेको नाकाबन्दी नखुलाउँदा तिब्बती सीमा क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा दैनिक उपभोग्य सामानको भाउ आकासिएको छ ।
नाकाबन्दी हुँदा तिब्बती बजारमा आश्रित चुमनुब्री गाउँपालिकाका दुईहजार ६८ घरधुरीका पाँचहजार ९३२ जना स्थानीय बासिन्दा मर्कामा परेका छन् । नजिकको तिब्बती बजार जाने नाका बन्द भएपछि तल्लो भेगको बजारबाट महंगो ढुवानी भाडा तिरेर दैनिक उपभोग्य बस्तु लैजान बाध्य छन् ।
तल्लो भेगमा २५ रुपैयाँ पर्ने प्रतिकिलो नूनलाई त्यहाँको बजारमा १६० रुपैयाँ तिर्नुपरेको वडा नं. १ का अध्यक्ष कर्मा छेवाङ लामा बताउँछन् । ‘नून तपाईहरु २५ रुपैयाँमा पाउनु हुन्छ, हामीले एकसय साठी तिर्नुपरेको छ’, उनले भने, ‘खानेतेल प्रतिलिटर छसय रुपैयाँ तिर्नुपर्छ ।’ २५ किलोको जीरा मसिनो चामलको छ हजार रुपैयाँ तिर्ने गरेको उनले बताए ।
वडा नं. १ को सामागाउँ र साम्दोगाउँ तिब्बती सीमानामा पर्ने गाउँ बस्ती हो । सडक सञ्जालले नजोडिएका ती गाउँहरुमा खच्चडले सामान ढुवानी गर्न तीनदेखि चारदिनसम्म लाग्ने गर्छ । बर्खा लागेपछि खच्चड हिडाउने बाटोसमेत अवरुद्ध भएको स्थानीयबासीको भनाइ छ ।
त्यस्तै सीमा क्षेत्रमा पर्ने छेकम्पारमा पनि दैनिक उपभोग्य सामानको भाउ चुलिएको छ । ‘तिब्बतबाट ल्याउन पाएको भए आफ्नै याक, चौँरीले ढुवानी गथ्र्यो । सामानको मात्र मूल्य तिरे पुग्थ्यो । तर नाकाबन्द छ । तलको बजारबाट खच्चडले सामान ढुवानी गर्दा महंगो पर्छ’, वडा नं. ७ का अध्यक्ष टासी दोर्जे लामा भन्छन्, ‘अहिले छेकम्पारका उर्जा चामल २५ किलोको प्रतिबोरा पाँच हजार तिर्नुपर्छ । नून प्रतिकिलो १५०, खानेतेल प्रतिलिटर पाँचसय रुपैयाँ तिर्नुपर्छ ।’ बर्खा लागेर लोक्पामा पहिरो झरेपछि खच्चड हिँडाउन बन्द भएको उनले बताए । ‘यसपटक नाका खुल्छ कि भन्ने आशाले मान्छेले धेरै स्टक राखेका छैनन् । नाका पनि नखुल्ने, खच्चड पनि नचल्ने हो भने खाद्यान्नको समस्या हुन सक्छ’, उनले भने ।
नाका खुलाउन धेरै पटक प्रयास गरिएको तर सफल हुन नसकेको चुमनुब्री गाउँपालिकाकी उपप्रमुख लक्ष्मी गुरुङको भनाइ छ । ‘हालसालै पनि हामीले गृहमन्त्रीलाई भेटेर पनि कुरा राखेका छौँ । गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय र महावाणिज्य दूतावासमा पनि पत्राचार गरेका छौँ’, उनले भनिन्, ‘हामीले गर्ने प्रयास त गरिरहेका नै छौँ, तर नतिजा के हुन्छ भन्न सकिन्न ।’ बर्खाका कारण अहिलेसम्म खाद्यान्न अभावको अबस्था नभएको भन्दै उनले पहिरोले लामो समयसम्म बाटो थुनियो भने समस्या हुन सक्ने बताइन् ।




