
आरुघाट गाउँपालिकाको यसबर्षको बजेट ५८ करोड १६ लाख
आरुघाट गाउँपालिकाले आगामि आर्थिक बर्ष २०८०।०८१ का लागि अनुमानित ५८ करोड १६ लाख १७ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम घोषणा गरेको छ । गत असार २९ गते सम्पन्न गाउँसभाले सो बजेट तथा कार्यक्रम अनुमोदन गरेको हो ।
गत बर्षको बजेट चालुतर्फ ३८ करोड ९८ लाख रुपैयाँ र पुँजीगततर्फ २४ करोड ६४ लाख गरी कुल ६३ करोड, ६३ लाख विनियोजन भएकामा चालुतर्फ ३५ करोड एकलाख(८९.८२ प्रतिशत र पुँजीगततर्फ २० करोड १२ लाख (८१.६७ प्रतिशत) प्रगति गरेको थियो ।
गत आर्थिक बर्ष आरुघाट गाउँपालिकाले कूल बजेट ६३ करोडमध्य जम्मा ५५ करोड १४ लाख(८६.६६ प्रतिशत) प्रगति गरेको हो ।
गाउँपालिकाकी उपप्रमुख कल्पना नेपालीले चालुबर्षका लागि घोषणा गरेको बजेट तथा कार्यक्रमहरु योजनागत रुपमा शीर्षकगत ‘ब्रेकडाउन’ भने गरिएको छैन ।
घोषणा भएको कार्यक्रममा बिषयगत शीर्षक र बजेट सार्वजनिक भएको छ । जसअनुसार कृषिमा यान्त्रिकरण तथा आधुनिकिकरण गर्न र किसानलाई व्यवसायिक कृषि र पशुपालनमा अभिप्रेरित गर्नका लागि एक करोड ६५ लाख बिनियोजन गरिएको छ । त्यस्तै पालिकामा पर्यटन विकास गर्ने उद्देश्यले पालिकाभित्रका ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय स्थल प्रवद्र्धन गर्न र तिनको पूर्वाधार विकासका लागि ५० लाख विनियोजन गरेकी छन् ।
सामाजिक विषयको विकासका लागि पालिकाले एकमुष्ठ पाँच करोड २७ लाख विनियोजन गरेको छ । सोमध्य विद्यालयको भौतिक अबस्था सुधार, प्रविधिमैत्री शिक्षा, राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका लागि दुईकरोड ३० लाख बिनियोजन गरेको छ । बालपोषण, मातृपोषण तथा खोप कार्यक्रम र स्वास्थ्य वीमाजस्ता कार्यक्रमका लागि गाउँपालिकाले दुई करोड ३० लाख विनियोजन गरेको छ ।
खानेपानी आयोजनाहरु निर्माण तथा मर्मतसम्भारका लागि सो पालिकाले २० लाख रुपैयाँ बिनियोजन गरेको छ ।
गाउँपालिकाको केन्द्र र वडाको केन्द्र, वडाको केन्द्र र टोलस्तरमा बाह्रै महिना सवारी साधन चल्न सक्ने सडक निर्माणका लागि दुई करोड ८२ लाख विनियोजन गरेको उपप्रमुख नेपालीले बताएकी छन् । साथै वडास्तरीय पूर्वाधार निर्माणका लागि चार करोड ५५ लाख विनियोजन गरेको जनाएकी छन् ।
जनप्रतिनिधि तथा कर्मचारीहरुलाई परिवर्तित समयसापेक्ष प्रविधिमैत्री बनाउन, तथा मन्त्रालयबाट लागु गरिएका नविनत्तम विषयबस्तुप्रति उनीहरुलाई सशक्तिकरण गर्न तालिम, प्रशिक्षण आदिका लागि एक करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।




