| बुधबार, कार्तिक २५, २०८३

उत्तरी गोरखामा गाइड र भरियाबाट ६३ लाख बढी रकम संकलन

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा आउने पर्यटक गाईड र भरियालाई कुपन वितरण वापत ६३ लाख ८८ हजार रकम संकलन भएको छ । मनास्लु पर्यटन व्यवस्थापन संयुक्त उपसमितिले पाँच महिनाको अवधिमा उक्त रकम संकलन गरेको हो ।

चुमनुव्री गाउँपालिकाभित्र रहेको होटलमा खान र बस्नका लागि उपसमितिले गाइड र भरियालाई कुपन वितरण गर्दै आएको छ । उनीहरुले एक छाक खानाको प्रतिव्यक्ति दुईसय ५० रुपैया तिर्नुपर्ने उपसमिति अध्यक्ष गणेश कार्कीले बताए । ‘बास बस्न पैसा लाग्दैन, तर एक छाक खानाको उहाँहरुले दुई सय ५० रुपैया तिर्नुपर्छ, त्यो कुपन लगेर होटलमा दिएपछि उहाँहरुले खाना र खाजा पाउनुहुन्छ,’ उनले भने । बिदेशी पर्यटक लिएर आउने गाइड र भरियाका लागि मात्र कुपनको व्यवस्था भएको उनले जानकारी दिए । उनका अनुसार जगतमा रहेको उपसमितिको कार्यालयबाट कुपन उपलब्ध हुदै आएको छ । गत फागुनदेखि असार महिनासम्म २६ हजार ७८७ वटा कुपन विक्री भएको कार्कीले बताए ।

बिक्री भएका कुपनमध्ये १२ सय ३३ वटा कुपन फिर्ता भएको समितिले जनाएको छ । ‘कोही बाटैबाट गन्तव्य स्थल नपुगी फर्किन्छन्, हामीले बिक्री गरेको कुपन प्रयोगमा आएन भने हाम्रो जगतस्थित कार्यालयमा आएर फिर्ता गरी पैसा लान पाउने व्यवस्था पनि गरेका छौ,’ कार्कीले भने ।

सो क्षेत्रमा रहेका होटल व्यवसायीले कुपन उपसमितिको कार्यालयमा बुझाएर रकम लाने गर्छन् । हालसम्म ३५ लाखभन्दा बढी रकम होटल व्यवसायीलाई भुक्तानी भइसकेको उपसमितिले जनाएको छ । कुपनबाट संकलित रकममध्ये केही प्रतिशत उपसमितिले कोषमा जम्मा गर्ने गरेको छ । एउटा कुपन वापत उपसमितिले होटल व्यवसायीबाट १० देखि ३० रुपैयासम्म लिने गरेको छ ।

हरेकवर्ष अर्धवार्षिक रुपमा दुई सिजनमा कुपन विक्री हुने गर्छ । भदौदेखि मंसिर मसान्तसम्म र फागुनदेखि असार मसान्तसम्म गरी दुई सिजनमा कुपन बिक्री हुने गरेको उपसमितिले जनाएको छ । २०७५ सालबाट कुपन प्रणाली लागू गरिएको बताइएको छ । चुमनुब्री गाउँपालिकाभित्र एक सय भन्दा बढी होटल संचालनमा छन् ।

कोषमा जम्मा भएको रकम पदमार्ग मर्मत र स्तरोन्नतीमा खर्च हुदै आएको उपसमिति अध्यक्ष कार्कीले बताए । उत्तरी गोरखामा पर्यटकका भरियाहरु घाइते भएमा उपचारका लागि कोषबाट केही रकम समेत सहयोग गर्दै आएको उपसमितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्