| बुधबार, कार्तिक २५, २०८३

पूर्वप्रधानमन्त्रीसित नागरिकको गुनासो : एक घर एक धारा छ, तर घर रित्तो छ

आफूलाई अर्थ र विकासको राजनीतिकर्मी भन्न रुचाउने पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई हरेक महिना गृहजिल्ला गोरखा पुग्छन् । गाउँबस्ती चाहार्छन् । गाउँबस्तीको अबस्था अध्ययन गर्छन् ।

यसपटकको जिल्लाभ्रमणमा आफ्नै जन्मथलो खोप्लाङ र सदरमुकाम गोरखा बजारको कार्यक्रममा सरिक भए । सदरमुकाममा गोरखा च्याम्बर अफ कमर्शले आयोजना गरेको व्यवसायीसंगको अन्तरक्रिया कार्यक्रममा सहभागी भए ।
सो कार्यक्रममा अधिकांशले उनलाई जिल्ला रित्तिदै गएको खबर सुनाए । खोप्लाङ जाँदा पनि उस्तै, सदरमुकाम जाँदा पनि उस्तै गुनासो सुनेपछि पूर्वप्रधानमन्त्री डाक्टर भट्टराई निराश बने ।

‘अहिले प्रदेश सरकारले एक घर एकधारा अभियान सञ्चालन गरेको छ । धेरैजसा घरहरुमा धारा जडान भइसकेका छन् । तर दुखका साथ भन्नुपर्छ, घरमा धारा त छ, तर मान्छे छैनन्’, नेकपा एमालेबाट प्रतिनिधित्व गरेका कमल दानीले भने, ‘यस्तो बिकराल अबस्थामा हामी पुगेका छौँ, कि अब गाउँबस्तीमात्र रित्तिदै छैनन्, सहर पनि सुनसान बन्दै छ । एकठाउँमा बसेर गोरखा बजारको सडकमा हिड्ने मान्छे गन्ने हो भने दिनभरिमा एकसय जना पु¥याउन पनि मुस्किल छ ।’ अबको नीति निर्माण तहमा बस्नेले यो विकराल अबस्थाप्रति गम्भीर भएर सोच्न जरुरी रहेको उनले बताए ।

उनीलगत्तै नेपाली कांग्रेसको तर्फबाट बोल्ने इमानसिङ बस्नेतले पनि उही अबस्था दोहो¥याए । ‘म काठमाडौँमा व्यवसाय गरेर बसेको मान्छे, बिगत तीनबर्षदेखि स्थायी रुपमा गोरखामा आएर बस्न थालेँ । म त आएँ, तर जिल्लाका मान्छे ह्वार्रह्वार्ती बाहिरिरहेका छन्’, उनी भन्छन्, ‘गाउँतिर गए पनि बुढाबुढी मात्र छन् । जग्गा जमिन बाँझै छन् । जन्ती–मलामी पनि पाइन छाडे । धमाधम सडक स्तरोन्नति भइरहेका छन् । ठूला–ठूला स्कूल भवनहरु बनिरहेका छन् । तर मान्छे छैनन् । यो अवस्था कसरी रोक्ने, कसले रोक्ने ? गाउँ रित्तिने भयो, जिल्ला रित्तिने भयो ।’ गाउँबाट सहरतिर लम्किने र सहरबाट विदेश उँड्नेको लस्कर देख्दा नेपालको भविष्य चिन्ताजनक रहेको उनले बताए ।

कार्यक्रममा आफ्नो राय राख्दै डाक्टर भट्टराईले जताततै यही समस्या सुन्दासुन्दै यस्तो अबस्थासंग आफू जानकार रहेको बताए । ‘आफू एसएलसी दिन आउँदा बसेको गोरखा बजार पैदल हिडेरै हेर्नुपर्यो भनेर आज विहान बजार घुमेँ । जता हेरे पनि सुनसानै देखेँ’, उनले भने, ‘तर म त्यति धेरै निराश भने छैन । फेरि यो बजारलाई गुल्जार बनाउन सकिन्छ । गोरखाको इतिहास र संस्कृतिलाई जगेर्ना गरेर पर्यटन व्यवसायसंग जोड्न सकेमा यसको गरिमा फेरि बढ्ने छ र गुल्जार हुनेछ ।’

मुलुकको अहिलेको अर्थव्यवस्था भने परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । ‘मैले पद, सत्ता र शक्तिको राजनीति छाडेपनि अर्थ र विकासको राजनीतिमा सक्रिय नै छु, र रहिरहनेछु’, उनले भने, ‘अब पहिले जस्तो जागिरे, व्यापारी पुँजीबाट उठाएर मुलुकलाई औद्योगिक पुँजीतर्फ लैजानु पर्छ भन्ने मेरो निश्कर्ष छ । त्यसका लागि कृषि, पर्यटन र उद्योगतर्फ युवाहरु उन्मुख हुनुपर्छ । यसले मात्र मान्छेलाई आफ्नै देशमा रहेर काम गर्ने वातावरण मिल्छ ।’

अहिले चारसय बर्षअघि राम शाहको पालादेखि चल्नै आएको ८० प्रतिशत भन्दा धेरै सामान विदेशबाट ल्याएर मार्जिन खाएर ब्यापार गर्ने चलन मात्र रहेकाले यो अवस्था आएको उनको भनाइ छ । ‘व्यापारिक पुँजीलाई औँद्योगिक पुँजीमा रुपान्तर गर्न सकेमा फेरि बजार गुल्जार हुन्छ’, उनी भन्छन्, ‘केन्द्र, प्रदेश, स्थानीय तह र निजी क्षेत्र लागेमा मुलुकको अबस्था सुदृढ हुनसक्छ । त्यसका लागि कम्तीमा पाँच, १० बर्षसम्म चल्ने स्थायी सरकार चाहिन्छ ।’

गोरखा च्याम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठको अध्यक्षतामा आयोजना भएको सो कार्यक्रममा गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटा, माओवादी केन्द्रका प्रतिनिधि ध्रुव भट्ट, गोरखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष भगवानबाबु मास्के, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहनलाल श्रेष्ठ लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्