| बुधबार, कार्तिक २५, २०८३

पर्यटकको सहजताका लागि धार्चेको बिभिन्न स्थानमा सूचना बोर्ड

आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि धार्चे गाउँपालिकाको पर्यटकीय पदमार्गको बिभिन्न स्थानमा सूचना बोर्ड राखिएको छ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र धार्चे गाउँपालिकाको संयुक्त साझेदारी तथा धार्चे मनास्लु पर्यटन विकास समितिको आयोजनामा सूचना बोर्ड राखिएको हो ।

कुल पाँच स्थानमा बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले बताए । उनका अनुसार धार्चेडाँडा, माछीखोला, यामगाउँ, काशीगाउँ र यारुवगरमा सूचना बोर्ड राखिएको छ ।

उक्त सूचना बोर्डमा पर्यटकीय स्थानको उचाइ, सो स्थान पुग्न लाग्ने समय, एक ठाउँदेखि अर्को ठाउँ सम्मको दुरी, खोलानाला, ताल, पुल, त्यस स्थानमा पाइने जनावर लगायतका विषयबस्तु समेटिएको बताइएको छ ।

क्षमता अभिवृद्धि तालिम तथा पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तरगत सूचना बोर्ड राखिएको गुरुङले जानकारी दिए ।

सूचना बोर्डले पर्यटकहरुलाई सम्बन्धित पर्यटकीय स्थलमा पुग्न तथा त्यस स्थानको बारेमा जानकारी राख्न धेरै सहज हुने अपेक्षा गरिएको छ ।

कार्यक्रमका लागी चालु आर्थिक बर्ष नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशबाट पाँच लाख र गाउँपालिकाबाट एक लाख गरी कुल ६ लाख रकम विनियोजन भएको थियो ।

वैशाख २४ देखि २७ गतेसम्म संचालन भएको क्षमता अभिवृद्धि तालिममा ३३ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्