
जीपीए ४ ल्याउनेको कथा : सन्दूक रुइतको जीवनीले मिहिनेत गर्न प्रेरित गर्यो
गोमा भट्ट मेडमले नेपाली पढाउँदा डाक्टर सन्दूक रुइतको जीवनी पढाउनु भयो । सफल हुनका लागि उनले गरेको संघर्षको बारेमा सुनाउनु भयो । डाक्टर भएपछि उनले गरेको योगदान र उनले पाएको सफलताका बारेमा भिडियो पनि देखाउनु भयो ।
उनको जीवनीले मलाई भित्रैदेखि छोयो ।
सन्दूक रुइत ताप्लेजुङ जिल्लाको बिकट बस्ती ओलाङचुङगोलाका थिए । त्यतिबेला उनी १५ दिन पैदल हिँडेर दार्जिलिङ पढ्न गएका रहेछन् । त्यो जीवनी पढेपछि मलाई सफल हुनका लागि ठूलो सहरमै जन्मनु पर्ने पनि रहेनछ, ठूलो सहरको नाम चलेको स्कूलमै पढ्नुपर्छ भन्ने पनि रहेनछ भन्ने लाग्यो । राम्रोसंग मिहिने गरेर पढियो भने जहाँ रहे पनि सफलता चुम्न सकिन्छ भन्ने लाग्यो ।
हाम्रो आरुघाट पनि गोरखा सदरमुकामबाट झण्डै ५० किलोमिटर टाढा पर्छ । मेरो घर त आरुघाट बजारबाट पनि बाहिर आरुटारमा पर्छ । मिहिनेत गरेँ भने मैले यहाँ रहेर पनि सफलता हाँसिल गर्न सक्छु भन्ने लाग्यो ।
मेरो मिहिनेत देखेर बुबा, आमा, प्रिन्सिपल भोजराज भट्ट, भाइस प्रिन्सिपल गोमा भट्ट पनि उत्साहित हुनुहुन्थ्यो । मलाई पनि सँधै प्रेरणा दिइरहनु हुन्थ्यो ।
आफूले पढेको कुरा साथीसंगीलाई सुनाइयो भने, अरुलाई पनि सिकाइयो भने आफ्नै सीप बढ्छ भन्ने मलाई राम्ररी थाहा थियो । त्यसैले म आफूले जानेको कुरा साथीहरुलाई सिकाउथेँ । यसले पनि मलाई थप आत्मबल बढ्थ्यो ।
पढ्ने भनेको परीक्षा दिनका लागि मात्र होइन, जान्नका हो, त्यसैले परीक्षाको मुखमा मात्र पढ्ने होइन । परीक्षाको मुखमा मात्र दुख गरेर हुदैन । सुरुदेखि नै मिहिनेत गरेर पढियो भने भित्रदेखि नै जानिन्छ भन्ने मलाई लाग्थ्यो ।
मैले जति पनि पढ्दै जान्थेँ, त्यसलाई फेरि दोहो¥याएर पढ्नु नपर्ने गरी सुरुदेखि नै ‘कम्प्लिट’ गर्दै जान्थेँ । स्कूलमा सर, मिसहरुले त सहयोग गर्ने हो, मिहिनेत त आफैले गर्ने हो भन्ने लाग्थ्यो । त्यसरी नै मिहिनेत गरेको थिएँ ।
मेरो मिहिनेत र क्षमता देखेर बुबा आमाले एसईईमा जीपीए चार ल्याउँछ भनेर अड्कल गर्नुभएको थियो । मलाई पनि जीपीए चार आउँछ भन्ने त लागेको थियो, तर ‘कन्फर्म’ थिइन । बुबा, आमा भने ढुक्क हुनुहुन्थ्यो ।
नभन्दै जीपीए चार आयो ।
घरमा बुबा, आमा धेरै खुशी हुनुभयो । सर, मिस पनि असाध्यै खुशी हुनुभयो । उहाँहरुको खुशी र उत्साह देखेर मलाई जिम्मेवारी बढेको महशुस भएको छ । उहाँहरुको सपना साकार पार्न अब मैले केही नगरी हुन्न भन्ने अठोट गरेको छु ।
अब मैले प्लस टुमा साइन्स पढ्ने र मेडिकल क्षेत्रमा पढ्ने योजना बनाएको छु । किनभने मैले पहिल्यैदेखि डाक्टर सन्दूक रुइत जस्तै ठूलो डाक्टर बनेर स्वास्थ्य सेवा गर्ने मनमा सपना पालेको छु । त्यही अठोट गरेर अहिले म प्लस टु को इन्ट्रान्सको तयारी गरिरहेको छु ।
(आयुस्मा श्रेष्ठ, नेप्लिज एड्भान्स सेकेण्डरी स्कूल, आरुघाट गोरखा ।)




