
डिभिजन वन कार्यालयद्धारा बिभिन्न प्रजातिका विरुवा वितरण सुरु
डिभिजन वन कार्यालयले बिभिन्न प्रजातिका विरुवा निशुल्क वितरण सुरु गरेको छ । कार्यालय मातहत रहेको सवडिभिजनमार्फत नर्सरीमा उत्पादन गरिएको विरुवा वितरण गर्न सुरु गरिएको हो । करिव ९० हजार विरुवा वितरण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।
जिल्लाभित्र वृक्षारोपण कार्य बढाउने योजनासहित विरुवा वितरण सुरु गरिएको कार्यालय प्रमुख अशोककुमार श्रेष्ठले बताए । काष्ठजन्य, मसलाजन्य, खयर, बकाइनो, चिउरीलगायतका बिरुवा उत्पादन गरी वितरण हुदै आएको उनले जानकारी दिए ।
‘तीन ठाउँमा नर्सरी स्थापना गरेर विरुवा उत्पादन गरेका छौ,’ उनले भने, ‘त्यही विरुवाहरु अहिले वितरण थालेका हौँ ।’
उनकाअनुसार गोरखा नगरपालिकाको तीनकिलो, गण्डकी गाउँपािलकाको सिउरेनीटारस्थित गण्डकी सवडिभिजन वन कार्यालय र पालुङटार सवडिभिजन कार्यालय परिसरमा नर्सरी स्थापना गरेर विरुवा उत्पादन गरिएको हो । कवुलियती र सामुदायिक वनमा रहेका बाँझो जमिनमा वृक्षारोपणका विरुवा निशुल्क वितरण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले राइखन्यु, निमारो, टाँकी, बर्रो, काभ्रो र पाखुरीलगायतका डालेघाँसका बिरुवा उत्पादनसँगै वितरण गरेको छ । त्यस्तै सौन्दर्यवर्धक कल्की, कपुर, म्यान्गुइष्टिक, वीरेन्द्रफूल, कपुर, धुपी, परिजात, श्रीखण्ड, अष्ट्रेलियन बबूल, गोलमोहरलगायतका बिरुवा पनि नर्सरीमा उत्पादन गरी वितरण भइरहेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
त्यसबाहेक फलफूल जातका अम्बा, इमिली, निबुवा, लप्सी, अमला, कटहर, जडीबुटीजन्य तेजपात, टिमुर, सर्पगन्धा, नीम, कुरिलो लगायतका बिरुवा पनि नर्सरीबाट उत्पादन गरी वितरण भइरहेको उनको भननाइ छ ।




