| बुधबार, कार्तिक २५, २०८३

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पालुङटारकी तामाङ पक्राउ

माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा गोरखा पालुङटारीकी एक युवती पक्राउ परेकी छन् । पालुङटार नगरपालिका वडा नं. ५ स्थायी घर भइ हाल काठमाडौ जिल्ला तार्केश्वर नगरपालिका फुटुङ बस्ने २९ बर्षिया सुस्मा तामाङलाई सोमबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ ।

वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै संजय गिरीसँग उनले रकम ठगी गरेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

‘गिरीसँग छ लाख रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु र मासिक रु एक लाख भन्दा बढी तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेको रहेछ’, उनले भने । उनले पिडितसँग पाँच लाख पचासी हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

वैदेशिक रोजगार विभागबाट सो व्यक्तिलाई पक्राउ गरी उपस्थित गराइदिन भनी पत्राचार भएको र प्रहरी टोलीले तामाङलाई खोजतलास गर्ने क्रममा सोमवार काठमाण्डौबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्