
गोरखामा दुई करोड ३२ लाख विद्युत बक्यौता उठ्न बाँकी
आर्थिक बर्ष २०७९÷८० मा नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रको दुई करोड ३२ लाख ८० हजार बक्यौता रकम उठन बाँकी रहेको छ । ग्राहक(नीजि घरधुरी) बाट मात्रै एक करोड ५० लाख महशुल रकम उठ्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
‘उद्योगवर्गतर्फ ४६ लाख रकम उठ्न बाँकी छ,’ कार्यालयका आय प्रमुख अनिल कैनीले भने, ‘खानेपानी संस्थाहरुको ९ लाख ५० हजार बाँकी छ ।’ व्यापरिक वर्गबाट २५ लाख र सिंचाइ वर्गबाट दुई लाख रकम उठ्न बाँकी रहेको उनले जानकारी दिए । मन्दिर÷मस्जिद तर्फभने तीस हजार मात्र रकम उठ्न बाँकी रहेको बताइएको छ ।
उनका अनुसार यस बर्ष सबै सरकारी कार्यालयले बक्यौता रकम तिरिसकेका छन् ।
चालु आव कार्यालयले विद्युत महशुल नतिर्ने १२ सय ग्राहकको लाइन काटिदिएको छ । ‘उनीहरुबाट दुई करोड ३५ लाख ९१ हजार महशुल रकम उठाउन बाँकी थियो, लाइन काटिदिएपछि ९ सय २५ जनाले रकम बुझाउनुभयो,’ कैनीले भने । उनीहरुबाट एक करोड ९४ लाख ६८ हजार रकम उठेको उनले जानकारी दिए ।
उनका अनुसार मिटर रिडिङ भएको ६० दिनभित्र महशुल नतिरेमा लाइन काट्न सकिने छ । मिटर रिडिङ भएको १५ औँ दिनसम्म पनि महशुल नतिरेमा जरिवाना लाग्ने उनले बताए ।
‘१६ देखि तीस दिनसम्म ५ प्रतिशत जरिवाना लाग्छ, त्यसभन्दा माथि २५ प्रतिशत लाग्छ,’ उनले भने । मिटर रिडिङ भएको एक हप्ताभित्र महशुल तिर्ने ग्राहकले महशुलमा दुई प्रतिशत छुट पाउने उनले जानकारी दिए । कार्यालयको जेठ महिनासम्मको तथ्यांक अनुसार हाल जिल्लामा करिव ४८ हजार ग्राहक छन् ।




