
१८ सय खोला सहकारीद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम
अठारसय खोला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा लागु औषध दुरुपयोग नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र गोंगबु र ईन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपको सहकार्यमा गत असार १६ गते कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारीका शेयरधनी र तिनका किशोरवस्थाका छोराछोरीहरुका लागि एक दिने लागु औषध दुरुपयोग नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण भएको सहकारी संस्थाका शिक्षा उपसमितिका संयोजक वीरबल घलेले बताए । अभिभावक र किशोर किशोरीहरुलाई आसारा सुधार केन्द्रका प्रशिक्षक गौरव सिरोहिया, ईन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपका किशोर खड्काले लागु पदार्थको दुरुपयोग, स्वास्थ्य, सामाजिक असर, कानुनी प्रावधान तथा प्रभावकारी सिकाइ आदिका विषयमा प्रशिक्षण दिएका थिए ।

वर्तमान समयमा विकराल समस्याको कारण बन्दै गएको लागु पदार्थको दुरुपयोग तथा कुलतबाट शेयरधनीको छोराछोरीहरुलाई जोगाउन टेवा पुगोस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको घलेले जानकारी दिए ।
सहकारीका संस्थापक अध्यक्ष अमर बहादुर तमुले कार्यक्रमको उद्घाटन गरेका थिए ।
सहकारी संस्थाका अध्यक्ष तारा गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष केदारनाथ काफ्ले, प्रहरी नायब निरीक्षक विनोद श्रेष्ठ, ईन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपका उपाध्यक्ष सानुराजा शिल्पकार, महासचिव दिपक अधिकारीको उपस्थिति रहेको थियो ।




