
पृथ्वीनारायण शाहको सालिक स्थापना गरेको बिल फस्र्यौट गर्न किचलो
किचलो बढ्दै गएपछि गोरखा नगरपालिकाले ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक स्थापना गरेको कार्यक्रमको भुक्तानी दिन सकेको छैन । ४५ लाख लागतमा नेपाली सेनामार्फत गरिएको सो कार्यक्रमको आर्थिक बर्ष समाप्त हुन लागिसक्दा पनि भुक्तानी दिन नसकेको हो ।
सो कार्यक्रमको बिल भरपाईलाई प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले सदर गर्न अस्वीकार गरेका छन् । अनुमानित लागत भन्दा दोब्बरभन्दा बढि खर्च भएको बिल भरपाई आएको भन्दै कार्यपालिकाको बहुमत सदस्यले पनि बिरोध गर्दै आएका छन् ।
गोरखा नगरपालिका ६ ठूलोआँगनमा पृथ्वीनारायण शाहको सालिक र मोनोग्राम स्थापना गरी नेपाली सेनाले राष्ट्रनिर्माता सलामी कार्यक्रमको प्रधानसेनापतिमार्फत उद्घाटन गरेको थियो । नगरपालिकाले २० देखि २२ लाखसम्म लागत अनुमान गरेको सो कार्यक्रमको ४५ लाख खर्च भएको भन्दै बिलभरपाई पेश भएपछि विवाद चुलिएको नगरपालिकाले जनाएको छ ।
‘पहिलो कुरा त म फागुनको अन्तिमतिर आएको हुँ । कार्यक्रम पुसमा भएको रहेछ’, प्रमुख प्रशासकीय अधिकृत पुनले भने, ‘खरिद प्रक्रिया अनुसार आवश्यक पर्ने प्रस्तावना छैन, लागत स्टमेट छैन, कार्यादेश छैन । बिनाकुनै कागजात मैले कसरी सदर गर्न सक्छु ? म आफू फँस्ने काम गर्न सक्दिन ।’
आवश्यक कागजात नभएको कार्यक्रमको बिलभरपाई सदर गर्न प्रमुख प्रशासकीय अधिकृतले अस्वीकार गरेपछि नगरपालिकाले हालसालै त्यतिबेलाको मिति राखेर कागजात तयार गरेको छ । तर सो कागजातमा कसले हस्ताक्षर गर्ने भन्नेमा विवाद विद्यमान छ । सो कागजातमा त्यतिबेला बहाल प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालको हस्ताक्षर गराउन नगरपालिकाको एक टोली केहीदिनअघि उनी कार्यरत सामान्य प्रशासन मन्त्रालय पुगेको थियो ।
तर सात महिना पुरानो मिति राखेर अहिले बनाइएको कागजातमा आफूले हस्ताक्षर गर्न नमिल्ने भन्दै उनले पनि फिर्ता गरिदिएका छन् ।
दुवै प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गर्न नमानेपछि बिलभरपाई पास गरी भुक्तानी प्रक्रिया अन्यौल भएको छ ।
सुरुमा कार्यपालिकाले पाँच, दस लाख रुपैयाँसम्म खर्च गरेर गोरखा संग्रहालयको मुलगेटनेर पृथ्वीनारायण शाहको सालिक स्थापना गर्ने योजना अघि बढाएको एक कार्यपालिका सदस्यले बताए ।
‘पछि फेरि नेपाली सेनासंग समन्वय गरी गर्ने टुंगो लागेपछि २० देखि २२ लाखसम्म खर्च गर्न कार्यपालिकाले निर्णय गरेको थियो’, उनले भने, ‘पछि फेरि त्यतिले पनि नपुग्न सक्छ भनेर माग आएपछि ३० लाखसम्म खर्च गर्न सक्ने भनेर निर्णय गरियो । तर बिल भरपाई आउने बेलामा ४५ लाख रुपैयाँ पो आयो । अनुमानित भन्दा दोब्बर बढिको बिलभरपाई पास गर्न सकिँदैन भनेर कार्यपालिकाले स्वीकृत गरेको छैन ।’
तर नगरप्रमुख कृष्ण रानाले भने बिलभरपाई पास नगरी साध्यै नभएको बताएका छन् । ‘अनुमानित भन्दा धेरै नै खर्च गरेछन् । तर जे हुनु भइसक्यो । अब भुक्तानी अड्काउनु हुदैन’, उनले भने, ‘दुई प्रमुख प्रशासकीय अधिकृतमध्य कसले हस्ताक्षर गर्ने भन्ने अलमल हो, तर गर्नुहुन्छ । नगरेर हुदैहुदैन ।’ खर्च जे जति भए पनि राष्ट्रनिर्माता सलामी कार्यक्रमको थालनी हुनु धेरै राम्रो भएको उनले बताए ।
उद्घाटनका दिन बजारको साजसज्जा र रात्रीभोजमा बढि खर्च भएको नगरपालिकाले जनाएको छ ।




