
गोरखामा योजना छनौटमा पालिकाको हेलचेक्र्याइँ, करोडौंका योजनामा प्रगति शून्य
गोरखाका पालिकाहरुले करोडौँ रुपैयाँ बिनियोजन गरेका योजना तथा कार्यक्रममा प्रगति भने शून्य प्रतिशत हातपार्ने गरेका छन् ।
हालै महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको ६० औँ प्रतिवेदनमा यहाँका ११ वटै पालिकाले करोडौँ रुपैयाँ बिनियोजन गरेका योजना तथा कार्यक्रमहरु काम सुरु नै नगरी खेर फाल्ने गरेको पाइएको हो ।
‘तोकिएको सफलता हाँसिल गरी पालिकाले सतप्रतिशत प्रगति हासिल गर्नुपर्नेछ, तर गोरखाका पालिकाहरुले धेरै योजना तथा कार्यक्रमहरुमा शून्य प्रतिशत प्रगति हाँसिल गरेका छन्’, प्रतिवेदनको सुझावमा भनिएको छ, ‘कार्यान्वयन गर्न सकिने योजनाहरु मात्र छनौट गरी पास गर्नुपर्छ । लक्ष्यअनुसार प्रगति नहुने हो भने पालिकाको नीति तथा कार्यक्रमको कुनै औचित्य रहँदैन ।’ पालिकाले योजना छनौटमा ध्यान पुर्याउनु पर्ने भनेर महालेखाले सुझाव दिएको छ । तर गोरखाका पालिकाहरुले भने बर्षेनी कत्तिपनि कार्यान्वयन गर्न नसक्ने दर्जनौँ योजना तथा कार्यक्रम छनौट गर्ने गरेका छन् ।
गोरखा नगरपालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा ८९ वटा योजनामा शून्य प्रतिशत प्रगति गरेको थियो । पाँच करोड ४५ लाख रुपैयाँको सो योजनामा कत्ति पनि प्रगति हात पार्न सकेन । त्यसलगत्तै अर्को आर्थिकबर्ष २०७८।०७९ मा २४ वटा योजनामा सुन्य प्रतिशत प्रगति भएको छ । ५ लाखदेखि ५० लाखसम्मका चार करोड भन्दा बढिका योजनामा प्रगति हुन नसकेको महालेखाले जनाएको छ ।
अरु १० वटा पालिकाले पनि करोडौँका योजनामा सुन्य प्रगति गरेका छन् ।
आर्थिकबर्ष २०७७÷०७८ मा २८ वटा योजनामा कत्ति पनि प्रगति नगरी बजेट खेर फालेको बारपाक सुलीकोट गाउँपालिकाले अर्को आर्थिक बर्ष २०७८÷०७९ मा पनि २९ वटा योजनामा शून्य प्रगति गरेको छ । दुईलाखदेखि एक करोड १६ लाखसम्मका गरी सो पालिकाले तीनकरोड ४१ लाखका योजनामा शून्य प्रगति हात पारेको हो ।
आर्थिकबर्ष २०७८÷०८९ मा पालुङटार नगरपालिकाका ३५ वटा योजनाहरुमा सुन्य प्रगति भएका छन् । यहाँ पनि तीनलाखदेखि ५० लाखसम्मका नौ करोड ६७ लाखका योजनाहरुको कत्तिपनि प्रगति नभै बजेट फिर्ता भएको हो ।
सिरानचोक गाउँपालिकाको पनि अबस्था उस्तै छ । सो पालिकाले गत आर्थिकबर्ष १३ लाखदेखि ९२ लाखसम्मका आठ करोड ८५ लाखका २६ वटा योजनामा प्रगति शुन्य हात पारेको हो ।
सो आर्थिक बर्ष सहिदलखन गाउँपालिकाले पनि १४ वटा योजनामा कत्तिपनि प्रगति गर्न सकेन । एकलाखदेखि ७३ लाखसम्मका गरी दुई करोड १८ लाख रुपैयाको योजना कामै नगरी आर्थिक बर्ष सकिएको हो ।
गण्डकी गाउँपालिकामा पनि शून्य प्रगति भएका २२ वटा योजना छन् । पाँच करोड ४० लाख बराबरका ती योजनाको प्रगति शून्य भएको हो । धार्चे गाउँपालिकाको १५ वटा योजनामा पनि प्रगति शूुन्य छ । एकलाखदेखि १५ लाखसम्मका गरी ६६ लाखका योजना बिनाप्रगति बर्ष सकिएको हो ।
चुमनुब्री गाउँपालिकाका २२ वटा कार्यक्रम पनि कत्तिपनि प्रगति नभै आर्थिकबर्ष समाप्त भएको छ । पाँचलाखदेखि एक करोडसम्मका गरी कूल तीन करोड ४५ लाखका योजनामा शूुन्य प्रगति भएको हो ।
भीमसेन थापाको ३७ वटा योजनामा प्रगति शून्य छ । ५० हजारदेखि ९२ लाखसम्मका गरी कूल तीन करोड ५७ लाखका योजनाको प्रगति शून्य भएको हो ।
सो आर्थिकबर्ष अजीरकोट गाउँपालिकाको २८ वटा योजनामा शून्य प्रतिशत प्रगति छ । पाँचलाखदेखि एक करोडसम्मका गरी चार करोड ३९ लाखका योजनामा शून्य प्रगति भएको हो ।
आरुघाट गाउँपालिकाको २३ वटा योजनामा पनि कत्तिपनि प्रगति हुन सकेन । तीनलाखदेखि २९ लाखसम्मका गरी एक करोड ८८ लाख रुपैयाँका योजनाको काम कत्तिपनि नगरी आर्थिक बर्ष सकिएको हो ।
सम्भाव्यता अध्ययन नगरी पारिएका योजनाहरु कार्यान्वयन हुन नसक्ने अजीरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्थीको टिप्पणी छ । ‘बिनासम्भाव्यता अध्ययन पारित भएका कार्यक्रम कार्यान्वयन हुदैनन् त्यसैले प्रगति शून्य देखिएको हो’, अवस्थी भन्छन्, ‘कतिपय योजनाहरु प्राथमिकतामा नपरेर रकमान्तर भएका हुन्छन् ।’ कतिपय योजना विवादका कारण पनि कार्यान्वयन हुन नसकेर प्रगति नदेखिएको हुनसक्ने उनको भनाइ छ ।




