
बारपाक सुलिकोटको नीति तथा कार्यक्रम : बारपाकलाई राष्ट्रिय स्तरमा भूकम्प अध्ययन स्थलको बनाइने, जमिन बाँझो राखे जरिवाना
बारपाक सुलिकोट गाउँपालिकाले भूकम्पको केन्द्रविन्दु बारपाकलाई राष्ट्रिय स्तरमा भूकम्प अध्ययन स्थलको रुपमा विकास गर्ने योजना बनाएको छ । गाउँपालिकाले प्रस्तुत गरेको आगामि आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा सो कुरा समावेश गरिएको छ ।
भूकम्पको केन्द्र रहेको स्थानलाई संरक्षण गर्दै प्रचार प्रसार गर्ने पालिकाको नीति छ । भूकम्पबाट क्षति पुगेर पुननिर्माण हुन बाँकी रहेका सामुदायिक तथा सार्वजनिक भवनहरुको पुनर्निर्माणका लागि स्रोत जुटाउने पालिकाले जनाएको छ । पालिकाले खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना गर्ने बताइएको छ । दरौदी करिडोरलाई कृषि उत्पादन पकेट क्षेत्र बनाउने नीति पालिकाले लिएको छ ।
पालिकाभित्र रहेको खानी तथा खनिज पदार्थको अन्वेषण र उत्खनन्को व्यवस्था मिलाइने र यसमा आधारित उद्योगलाई प्रोत्साहन गरिने पालिकाले जनाएको छ । अल्लो प्रशोधन केन्द्रको बिस्तार गर्ने, सिस्नो, लोकता लगायतका स्थानीय कच्चा पदार्थबाट उत्पादनमा बृद्धि गर्न सहयोग गर्ने योजना पालिकाको छ ।
पालिकाभित्र उच्च शिक्षाका लागि बहुमुखी क्याम्पसको स्थापना गरिने बताइएको छ । ‘प्लस टु’ सम्मको शिक्षा निशुल्क र अनिवार्य गरिने र लागत साझेदारीको आधारमा एक शिक्षक एक ल्यापटप कार्यक्रम लागु गरिने भनिएको छ । अध्ययन सकेपछि अनिवार्य तीनबर्ष गाउँपालिकाको अस्पतालमा सेवा दिने सर्तमा प्रत्येकबर्ष तीनलाख बराबरको एमविविएस छात्रवृत्ति योजना लागु गरिने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
गणित र विज्ञान बिषयलाई आगामि बर्षबाट लागु हुने गरी अनिवार्य अग्रेजी माध्यममा पढाउने व्यवस्था मिलाउने पालिकाले जनाएको छ । पालिकामा नयाँ नियुक्ती लिएर आएका स्थायी शिक्षक कर्मचारीलाई एक बर्षसम्म गाउँपालिका बाहिर सरुवा जान सहमति नदिइने बताइएको छ ।
२०७७ देखि २०८५ लाई सार्वजनिक विद्यालय सवलिकरण दशकको रुपमा सफल पार्न सहयोग गर्ने खालका कार्यक्रम संचालन गर्ने पालिकाको योजना छ । एक वडा एक एम्वुलेन्सको नीति अपनाइने बताइएको छ । वडाहरुमा बाह्रै महिना सवारी चल्ने गरी सडकको स्तरोन्नति गर्ने पालिकाको योजना छ ।




