| बुधबार, कार्तिक २५, २०८३

पालुङ्टार खारखोलामा बाढीमा हेलिएर स्कूल जाने ठाउँमा ट्रस पुल निर्माण

पालुङटार नगरपालिका ९ बिर्दी तथा आसपासका विद्यार्थी अब बर्खाका बेला स्कूल जान खारखोला भेलमा हेलिनु नपर्ने भएको छ । धर्मोदय मावि जाने बाटोमा पर्ने खारखोलामा स्टिलको ट्रस्ट पुल निर्माण भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरु बिगतका बर्षहरुमा झैँ खारखोलाको भेलमा हेलिनु नपर्ने भएको हो । पुुल नहुँदा विद्यार्थीहरुले भोग्नु परेको समस्या समाधान गर्न हिमाली क्षेत्र विकास केन्द्रले हालसालै स्टिलको ट्रस्ट पुल निर्माण सम्पन्न गरेको छ ।

दरौँदीडाँडा र बिर्दी क्षेत्र जोड्ने गरी ३२ मिटर लामो ट्रस्ट पुल निर्माण गरिएको हिमाली क्षेत्र विकास केन्द्रका सचिव वीरबल घलेले जानकारी दिए ।

पालुङ्टार नगरपालिकाको ३६ लाख १४ हजार ९१२ रुपैयाँ आर्थिक लगानी तथा हिमाली क्षेत्र विकास केन्द्रको प्राविधिक सहयोगमा सो ट्रस्ट पुल निर्माण गरिएको हो । सो पुल निर्माण भएपछि विद्यार्थीहरु ज्यानको बाजी थापेर भेलमा हेलिएर विद्यालय जानुपर्ने बाध्यताबाट मुक्त भएको घलेले जानकारी दिए ।

साथै सो संस्थाले पालुङटार नगरपालिका १ खारखोलामा पनि स्टिलको ट्रस्ट पुल निर्माण गरेको छ । वडा नं. १ खोप्लाङ र वडा नं. १० मिरकोट जोडने गरी पुल निर्माण गरिएको पुल निमाण उपभोत्ता समितिका अध्यक्ष जीतबहादुर देवकोटाले बताए । उक्त पुल निर्माण भएपछि स्थानीय वासिन्दालाई बर्खाका बेला खोलावारिपारि गर्न सहज भएको देवकोटाले बताए ।

सोही पुल भएर दुवै गाउँका सयौं घरपरिवारले मेलापात आउजाउ गर्ने र अन्नपात ओसार पसार गर्ने गर्दछन् । २४ मिटर लामो सो ट्रस पुल २४ लाख ८१ हजार २१५ रुपैयाँमा निर्माण भएको हिमाली क्षेत्र विकास केन्द्र सचिव वीरबल घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्