
आरुघाट गाउँपालिकाको नीति तथा कार्यक्रम : लागूऔषध दुव्र्यसनीमुक्त पालिका बनाइने
आरुघाट गाउँपालिकाले पहिरो रोकथाम तथा नियन्त्रणमा बिशेष जोड दिने भएको छ । वडा नम्वर १ को स्याम्चेत पहिरो, वडा नम्वर २ को छतिवन, वडा नम्वर ३ को भलाक, वडा नम्वर ५ को आर्वाङ र भलछोपे पहिरो, वडा नम्वर ६ को ठाँडस्वाँरा र वडा नम्वर ७ को भ्यागुते पहिरो रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने पालिकाको आगामि आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष राजु गुरुङले आर्खेत बजार र सोती बजारमा बाढी नियन्त्रण गर्दै बजार संरक्षणमा पहल गरिने बताए ।
चरन खर्क सुधार कार्यक्रमलाई आवश्यकता अनुसार सुधार गर्दै लैजाने पालिकाले जनाएको छ । जमिन बाँझो राख्नेलाई कृषि अनुदानका कार्यक्रममा समावेश नगराउने नीति पालिकाले लिएको छ ।
‘एक बिद्यालय एक करेसावारी स्थापना, शुद्ध तरकारीको सदुपयोग दिवा खाजामा उपभोग’ भन्ने नाराका साथ प्रत्येक माध्यमिक बिद्यालयमा करेसाबारी स्थापना गरिने बताइएको छ । वडा नम्वर ५ क्याकमा बनाउने भनिएको उद्योग ग्राममा जडीवुटीहरुको प्रशोधन केन्द्र स्थापनाका लागि सबै पक्षसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । पालिकाले कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने योजना समेत बनाएको छ ।
सम्भावित पर्यटकीय स्थलको बिकासका लागि नीजि क्षेत्रलाई लिजमा दिने र धुनिखोप झरनामा जीप लाइनको बिकासका लागि अध्ययन गरिने पालिकाले जनाएको छ । बन्जीजम्प, रक क्लाइम्विङ, साहसिक पदयात्रा जस्ता क्षेत्रको बिकास गर्न डिपिआर तयार गर्ने भनिएको छ । एक वार्ड एक पार्क निर्माण कार्यलाई अघि बढाइने बताइएको छ । युवाहरुलाई टे«किङ गाइड सम्बन्धी तालिम दिने पालिकाको योजना छ ।
बूढीगण्डकी जलविद्युत आयोजना डुवानमा पर्ने सरकारी कार्यालयहरुको लागि आवश्यक जग्गा व्यवस्थापन गर्न संघीय सरकारसँग समन्वय गरिने पालिका अध्यक्ष गुरुङले बताए । अन्य पालिकासँग भएको सीमा विवाद समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरिने उनले जानकारी दिए ।
आगामि शैक्षिक सत्रबाट कक्षा १, ४ र ६ मा स्थानीय पाठ्यक्रम लागू गर्ने पालिकाको योजना छ । १ देखि ५ सम्मको स्थानीय पाठ्यक्रममा गुरुङ भाषालाई ऐच्छिक बिषयको रुपमा संचालन गर्न पाठ्यक्रम निर्माणको कार्य थालनी गरिने बताइएको छ । भीमोदय बहुमुखी क्याम्पसलाई सरकारी क्याम्पसको रुपमा विकास गर्ने नीति पालिकाले लिएको छ ।
विद्यालयमा जंक फुड निषेध गरिने र विद्यालय सीमा क्षेत्रबाट न्यूनतम दुईसय मिटरभित्र धुम्रपान, मद्यपान तथा मदिराजन्य पदार्थ बेचबिखनमा रोक लगाइने बताइएको छ । जलकुमारी मावि र भवानी माविलाई आवासीय विद्यालयको रुपमा स्थापित गर्न पहल गरिने पालिकाले जनाएको छ । गण्डकी प्रदेश सरकारले ल्याएको ‘फ्राइडे फर फ्यूचर’ कार्यक्रमलाई पालिकाले लागू गर्ने भएको छ । ‘सुत्केरी महिलालाई निशुल्क एम्वुलेन्स सेवा संचालन गर्ने र पालिकालाई लागू औषध दुव्र्यसनीमुक्त पालिका घोषणाका लागि पहल गर्ने पनि भनेका छौँ,’ पालिका अध्यक्ष गुरुङले भने ।
लायन्स क्लबसंगको साझेदारीमा आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र संचालनमा ल्याइने उनले बताए । वडा नम्वर ५, ६, ९ र १० मा देखिएको खानेपानी समस्यालाई समाधान गर्न आप्रिक क्षेत्रको मूलको पानी ल्याउने योजना पालिकाको छ । वडा नम्वर ७ बाट सुरु भएको ‘फोहोरमुक्त सरसफाइयुक्त वडा घोषणा’ कार्यक्रमलाई क्रमश विस्तार गर्दै लैजाने पालिकाले जनाएको छ ।




