| बुधबार, कार्तिक २५, २०८३

पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गरेको छु : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गरेको बताएका छन् । गोरखा सदरमुकाममा सोमबार पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अहिले प्रदेश र केन्द्रमा गोरखाको बर्चस्व रहेको र सबै बजेट गोरखामा केन्द्रित गरेको आरोप लागेको बताउँदै उनले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गरेको बताए । उनी गण्डकी प्रदेशका ११ वटै जिल्लाको मुख्यमन्त्री भएको बताउदै सबै जिल्लामा जनताका आवश्यकता अनुसार योजना छनौट गरी बजेट विनियोजन गरिएको बताए ।

अहिले प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने गरी होमस्टे कार्यक्रमहरु ल्याएको बताए । त्यस्तै, प्रदेशभित्रका १० वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका जेष्ठ नागरिकका लागि ओपिडि र प्रयोगशाला परीक्षण निशुल्क गरिएको उनले बताए ।

डायलासिस सेवाको शुल्क सुन्यमा झारी डायलासिस सेवा प्रवाह गरिएको, अस्पतालको क्षमता अभिवृद्धिका लागि ६ करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए । गाँजा खेती तथा घरेलु मदिरालाई ब्रान्डिङ गरेर पनि प्रसस्त आम्दानी गर्न सक्ने अबस्था भएको आवश्यक अध्ययन गरी त्यसलाई पनि अघि बढाउने उनले बताए ।

कृषि उत्पादन बढाउन र बाँझो खेतको उपभोग गर्नका लागि विभिन्न कार्यक्रमहरु ल्याएने बताउँदै उनले स्थानीय उत्पादनको बजारीकरणका लागि प्रदेश सरकारले जिम्मा लिने बताए ।

अगामि आर्थिक वर्षमा पूर्वाधार, सडक लगायतका योजनाहरु विगतमा जस्तो टुक्रे बजेट विनियोजन नगरिएको समेत उनले बताए । त्यस्तै, तत्काल सम्बोधन गर्न नसकिएका योजनाहरु बहुवर्षीय योजना अन्तरगत राखिएको र आगामी बर्षमा बजेट विनियोजन गरिएको उनले बताए ।

गण्डकी प्रदेश उर्जाको क्षेत्रमा राज्यले मात्र लगानी गर्नसक्ने अबस्थामा नभएकाले नीजि क्षेत्रसंग सहकार्य गरेरै जाने बताए । प्रदेश सरकारको आयस्रोत वृद्धि गर्नकालागि राजस्वको दायरा विस्तार गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्