
वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी माविकी आरती गुरुङ पहिलो
स्वतन्त्र विद्यार्थी यूनियन गोरखा क्याम्पसले आयोजना गरेको गोरखा नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी माविकी आरती गुरुङ पहिलो भएकी छिन् ।
नेपालकै सबैभन्दा जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको ६४ औँ स्थापना दिवशको अवसर पारेर सोमबार आयोजना भएको गोरखा नगरपालिका स्तरीय मावि वक्तृत्वकला प्रतियोगितामा गुरुङ प्रथम भएकी हुन् ।
‘राष्ट्र निर्माणमा युवाको भूमिका’ शीर्षकमा सञ्चालन भएको वक्तृत्वकला प्रतियोगितामा द ओल्ड क्यापिटलकी प्रसिद्धिका अर्याल दोस्रो भइन् भने महेन्द्र मावि कुन्दुरकी रिया कुमाल तेस्रो भएको स्वतन्त्र विद्यार्थी यूनियन गोरखा क्याम्पसका सहसचिव तथा कार्यक्रम संयोजक रचन परियारले बताए ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार नगदसहित मेडल, प्रमाण पत्र प्रदान गरिएको परियारले जानकारी दिए ।
त्यस्तै, नवज्योति मावि डण्डीडाँडाका आयुस्मा रायमाझी र लक्ष्मी सामुदायिक विद्यालय लक्ष्मीबजारका शान्ति विक सान्त्वना भएकी छिन् ।
उनीहरुलाई नगद १ हजारका दरले पुरस्कार प्रदान गरिएको उनले बताए । वक्तृत्वकला प्रतियोगितामा नगरपालिकाका ११ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । स्वतन्त्र विद्यार्थी यूनियन गोरखा क्याम्पसका अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।




