
जर्नेल खड्काद्वारा बेनिघाट, आरुघाट, लार्के सडकको अवलोकन
नेपाली सेनाले बिगत छ बर्षदेखि निर्माण गरिरहेको बेनिघाट, आरुघाट, लार्के सडकको जर्नेल सीताराम खड्काले अवलोकन गरेका छन् । शुक्रबार चुमनुब्री गाउँपालिकाको फिलिमसम्म पुगेर उनले सडकको अवलोकन गरेका हुन् ।
सो क्रममा उनले चुमनुब्री गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधिसंग अन्तरक्रिया गरेका छन् । अन्तरक्रियामा उनले हालसम्म सडक निर्माणको क्रममा भएको प्रगतिप्रति सन्तुष्टि जनाएका गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
यसैक्रममा सिर्दिबासदेखि छेकम्पारको ङुइलाभञ्ज्याङसम्म सडक निर्माणका बारेमा पनि गाउँपालिकाले सेनासंग प्रस्ताब राखेको छ ।
‘सेनाले काम गर्दा छिटो पनि हुने, थोरै बजेटमा धेरै कार्यप्रगति पनि हुने भएकाले छेकम्पार सडक पनि सेनाले नै निर्माण गरोस् भन्ने हाम्रो चाहना जर्नेलसमक्ष राख्यौँ’, अध्यक्ष लामाले भने, ‘यसप्रति आफूहरु सकारात्मक रहेको उहाँले भन्नु भयो ।’ नेपाली सेनाले २०७४ साल बैशाखदेखि बेनिघाट, आरुघाट लार्के सडक निर्माणको काम गरिरहेको छ ।




