
कारवाही गर्ने चेतावनीपश्चात काम सुचारु गर्ने ठेकेदारको प्रतिवद्धता
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले तत्काल काम सुचारु नगरे निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएपछि गोरखाका दुई सडक स्तरोन्नतिको काम सुरु हुने भएको छ ।
सोमवार पालुंटार नगरपालिकाको राधाकृष्ण मन्दिर, कालामाटा, पौवाटार, बिरुवाटार, मिलनचोक, मझुवा सडक र गोरखा नगरपालिकाको नारेश्वर पँणेनीचौतारा, निवेल ताकुकोट सडक स्तरोन्नतीको काममा ढिलासुस्ती गर्ने ठेकेदारसहित सरोकारवाला निकाय बीच भएको छलफलमा प्रमुख जिल्ला अधिकारी भुसालले तत्काल काम सुरु नगरे कारवाही गर्ने चेतावनी दिएका थिए ।
राधाकृष्ण मन्दिर, कालामाटा, पौवाटार, बिरुवाटार, मिलनचोक, मझुवा सडक कालोपत्रेको जिम्मा पाएको अमर कन्स्ट्रक्सन प्रालिले म्याद थप भएको समयमासमेत काम सम्पन्न गरेको छैन । दुईबर्षमा काम सक्ने गरी पहिलो पटक २०७६ साल असार १६ गते ठेक्का सम्झौता भएको थियो । समयमै काम सम्पन्न गर्न नसकेपछि २०७९ चैत्र ३० गतेसम्मका लागि म्याद थप भयो । थप भएको म्याद पनि सकिसक्यो तर हालसम्म कामको प्रगति भने ५४ प्रतिशत मात्र रहेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त योजनाको कुल लागत २३ करोड ३८ लाख ८७ हजार रहेको छ ।
यता नारेश्वर पणिनी चौतारा निवेल ताकुकोट सडक कालोपत्रेको जिम्मा पाएको अमर÷ग्यानेस जेभी काठमाण्डौको पनि काममा लापरवाही देखिएको छ । २०८० साल असार २५ गते काम सक्ने गरी ठेक्का सम्झौता भएपनि हालसम्म कामको प्रगति १८ प्रतिशत मात्र रहेको छ । उक्त योजनाको कुल लागत २३ करोड ७५ लाख ५७ हजार रहेको बताइएको छ ।
सम्पन्न गर्नुपर्ने म्याद गुज्रिसक्दा पनि काम नगरेको भन्दै आक्रोशित स्थानीयले सम्बन्धित कार्यायल र प्रशासन कार्यालयमा ठेकेदार बिरुद्ध गुनासो गर्दै आएका थिए । गुनासो बढेपछि प्रजिअ भुसालले ठेकेदार सहित सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर सोमवार छलफल चलाएका हुन् । काम नगरे कारवाही गर्ने प्रजिअको चेतावनी पश्चात ठेकेदारले काम सुचारु गर्ने आश्वासन दिएका छन् । ग्यानेस जेभीका बिशाल चौलागाईले तत्काल काम सुरु गर्ने बताए । कार्यालयले भुक्तानी रोकिदिएका कारण काम सुचारु गर्न समस्या भएको उनले गुनासो गरे ।
कार्यालयले भने भुक्तानी दिएपछि काम नगर्ने प्रवृति बढेकाले रोक्का गरेको जनाएको छ । ‘दुवै सडकको काम एउटै ठेकेदारले गरिरहेको छ, नारेश्वर सडकको भुक्तानी दिएपछि भोलिपल्टै काम छाडेर कता गयो, यता फेरि त्यस्तै गर्ला भनेर राधाकृष्ण साइटको रकम केही समय भुक्तानी नगरेका हौँ’, पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख अजय श्रेष्ठले भने । आवश्यक जनशक्ति र उपकरण ल्याएर तत्काल काम सुरु गर्ने आश्वासन ठेकेदारले दिएको उनले जानकारी दिए ।




