
गोरखामा सवारी ज्यान मुद्धामा एक जना पक्राउ
गोरखामा सवारी ज्यान मुद्धामा एक जना पक्राउ परेका छन् । पालुङटार नगरपालिका वडा न. ३ लुईटेलका ३२ वर्षीय दिपक घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सवारी दुर्घटना गराई फरार रहेका उनलाई असार ३ गते ईलाका प्रहरी कार्यालय गजुरीको सहयोगमा गजुरी गा.पा. वडा नं. ५ घाटबेशी धादिङमा पक्राउ परेका थिए ।
गत जेठ ३१ गते सिरानचोक गापा ३ हर्मी स्थित लुइँटेल भच्चेक सडकखण्डमा घर्तीले चलाएको ना १ ख ६४६५ नं. को बसले सिरानचोक गा.पा. वडा नं. ३ का ७८ वर्षीय पुतली सार्कीलाई अचानक ठक्कर दिदा उनको घटना स्थलमै ज्यान गएको थियो । सार्कीलाई ठक्कर दिइ उनी फरार भएका थिए ।
आइतबार धादिङबाट पक्राउ परेसँगै उनी विरुद्ध सोमबार सवारी ज्यान शीर्षकमा मुद्धा दायर भएको छ । जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।




