
गोरखामा क्यान्सर पिडित एक महिलालाई अस्पतालमै पुगेर नागरिकता वितरण
गोरखाको पालुङटार नगरपालिका–७कि रबिना दराईलाई अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले क्यान्सर पिडित दराइलार्ई अस्पतालमै पुगेर शनिबार नागरिकता प्रदान गरिएको हो ।
काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सघन उपचार कक्षमा उपचाररत उनलाई उपचार कक्षमै नागरिकता उपलब्ध गराएको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चुडानिधि तिवारीले जानकारी दिए । उनको श्रीमान हितबहादुर दराईले प्रशासन कार्यालयमा आवश्यक सबै कागजपत्र पेश गरेको र सोही आधारमा असार १ गते नागरिकता प्रिन्ट गरेको उनले बताए । नागरिकता प्राप्त गर्नेको औंठाछाप लिएर प्रमाणपत्र दिन सबै जना शनिवार अस्पताल पुगेको उनले बताए ।
प्रशासकीय अधिकृत तिवारी र कम्प्युटर अपरेटर सवित शाक्य नागरिकता प्रदान गर्न काठमाडौं पुगेका थिए ।
नागरिकता प्राप्त भएपछि क्यान्सरपिडित बिरामीले राज्यबाट पाउने उपचार सहुलियत र अन्य सुबिधा प्राप्त गर्न सजिलो भएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले अपाङ्गता भएकाहरूलाई पनि घरमै पुगेर नागरिकता उपलब्ध गराउदै आएको छ ।




