
गोरखाका अल्पसंख्यकको कथाव्यथा : आफ्नै थर लेख्न लाज मान्नेले कसरी पहिचान जोगाउलान् ?
बराम, घले, कमर, बोटे, दरै, चुम्बानुब्री, चेपाङ, माझी आदि गोरखाका अल्पसंख्यक तथा पिछडिएका समुदाय हुन् । कोही आदि, अनादिदेखि नै कम संख्या भएकाले अल्पसंख्यक भएका हुन्, कोही आफ्नो जात र थरसित संकोच मानी अन्य थर राखेकाले आफ्नो बास्तविक जात अल्पसंख्यक भएका हुन् । कोही राज्यले आफूहरुलाई माथि उठाउन साथ नदिएको गुनासो गर्छन् भने कोही सशक्त आफै भएको, तर संख्या मात्र कम भएको तर्क गर्छन् ।
‘आफ्नै जातमाथि लात हानेकाले अल्पसंख्यक भयौँ’ : कर्ण कमर

कमर जाति गोरखामा ज्यादै थोरै संख्यामा छन् । विशेषगरी उनीहरु गोरखा नगरपालिका ९ को ठिगुरेस्वाँरा, गोरखा नगरपालिका ६ को गोरखा दरबार आसपास, वडा नं. ४ पन्थेस्वाँरा, वडा नं. ९ लक्ष्मीबजारतिर बसोबास गर्छन् । गोरखाका कमरहरुमा अहिलेसम्म एकजना प्रहरीको डिएसपीसम्म भएका छन् ।
‘कुनै बेला हामी राज खानदानका नजिकका हौँ । नाथ संप्रदायका धेरै इज्जतदार जाति हौँ । गोरखनाथका पूजारी हामी कमर, योगीहरु नै हौँ । तर दुखका साथ भन्नुपर्छ, गणतन्त्र आएपछि हाम्रा दाजुभाइले आफ्नो थर फेर्न थाले । कमरले कुँबर लेखाए । कसैले भने पनि ढाँटेर आफूलाई कुँवर राणा खलक हो भन्न थाले । आफैले आफ्नै थर र जातलाई लात हाने अनि कसरी हामी अगाडि बढ्न सक्छौँ ?
आजभोलि आफ्नो जातजातिलाई माया गर्ने, सम्मान गर्ने, पहिचान खोज्न थालेका छन् । तर हाम्रो जातमा त्यस्तो छैन । पछिल्लो चरणमा पोहोर जनगणनाको टोली आउँदा मलाई समेत राणा कुँवर लेख्न लगाएका थिए । मलाई त यसो भन्न भ्याए भने अरुलाई के भने होलान् ?’
भूगोलमा सबैभन्दा ठूला, राज्यको आँखामा सबैभन्दा साना भयौँ : पेमा ग्याल्बो लामा

यसअघि तामाङ भनेर सूचीकृत गोरखाका चुम्बानुब्री समुदायले यसपटकदेखि आफ्नै पहिचान पाएका छन् । उनीहरु गोरखाको चुम उपत्यका र नुब्री उपत्यकामा मात्र बसोबास गर्ने समुदाय हुन् । उनीहरुको समुदायबाट ठूलो ओहोदामा पुगेको मान्छे भनेकै चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा हुन् ।
‘गोरखा जिल्लाको झण्डैझण्डै आधाजसो भूगोलमा हाम्रो बसोबास छ । तर जनसंख्या देशभरमै जम्मा चारहजार ४१४ जना मात्र छौँ । जनसंख्याले धेरै कुरामा असर पार्ने रहेछ । जनसंख्या कम छौँ, जनसंख्या कम भएपछि मतदाता कम हुने नै भयो । मतदाता कम भएपछि यहाँबाट नेता निस्कनै सक्दैनन् ।
अन्यत्रको नेताले मतदाता कम भएको ठाउँलाई हुर्ने दृष्टिकोण फरक हुने रहेछ । त्यसैले हाम्रो नाममा विकास बजेट पनि धेरै कम आउने रहेछ । जब बजेट कम आउँछ, त्यति नै विकास कम हुन्छ, जति विकास कम हुन्छ, त्यति नै बसाइँसराइ धेरै हुन्छ । अनि फेरि जुन दरमा बसाइँसराइ बढेर जनसंख्या घट्छ, फेरि अर्को बर्षको विकास बजेट घटेर आउँछ । यही चेपेटामा हामी छौँ । दुर्गममा छौँ, शिक्षा छैन, राज्यको नजर पुग्दैन । त्यसैले सँधै पिछडिएको पिटडियै हुने भयौँ । त्यसैले जनसंख्याका आधारमा नभै भौगोलिक अबस्थाका आधारमा विनियोजन भए हाम्रो समुदायको उद्धार हुनेथियो ।’
थिचोमिचोले पछाडि परेका हौँ : किरण बराम

बराम अथवा बरामु समुदायको उद्गम थलो भनेर गोरखालाई चिनिन्छ । बरामहरु गोरखाको बारपाक सुलीकोट, भीमसेन, आरुघाट, सिरानचोक गाउँपालिकामा केही बढि संख्यामा र बाँकी अन्य गाउँपालिकामा पनि छिटपुट बसोबास गर्छन् । राजनीतिक मूल प्रवाहबाट पनि र राज्यको सेवा प्रवाहबाट पनि उनीहरु पछाडि नै छन् । यो समुदायबाट माथि उठेका व्यक्तित्व भनेको आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं वर्तमान एशियास्तरको एशिया इण्डिजेनियस पिपुल प्याक्ट(एआईपिपी)का कार्यकारी सदस्य जगत बराम हुन् ।
किरण बराम भन्छन्, ‘पञ्चायतका पालामा हाम्रा किपट अन्य समुदायले हडपे । बराम भनेपछि सिदासादा भनेर बढि नै थिचोमिचो गरे । हाम्रो पहिचान नहुँदा जागिरको क्रममा कसैले मगरको थर लेखे, कसैले गुरुङको थर लेखे । यसरी नै हामी पछाडि परिरहेका हौँ । सरकारले अन्य सीमान्तकृत जातजातिलाई जस्तो प्याकेज प्रोग्राम बनाएर कार्यक्रम पनि गरेन त्यसैले पनि माथि उठ्न नसकेका हौँ । हाम्रो बसोबास भएको क्षेत्र समेटेर विशेष क्षेत्र घोषणा भयो भने केही माथि उठ्ने अवसर पाउथ्यौँ कि ?’
संख्यामा कमी हौँ, तर कुनै कुरामा पछाडि छैनौँ : जीत घले

घले गोरखा, लम्जुङ, धादिङ र भोजपुरमा बसोबास भएको जाति हो । गोरखाको बारपाक, उहिया, खोर्ला, काशिगाउँ, जगतमा घले समुदायको बसोबास छ । घले समुदायबाट राजनीतिक क्षेत्रमा अघि बढेका हरिबहादुर घले हुन् । उनी कांग्रेसका निवर्तमान जिल्ला सभापति हुन् । अन्य रोजगारी, उद्योगी, व्यापारिक क्षेत्रमा पनि अघि बढ्नेको संख्या उल्लेख्य नै छ ।
त्यसैले बारपाकका जीत घले भन्छन्, ‘घले भनेको त बाइसीचौबिसी राजाका पालामा राजकाज चलाएको खलक हो, त्यसैले हामी पिछडिएका, थिचोमिचोमा परेकाचाहिँ होइनौँ, सशक्त नै छौँ । संख्यामा मात्र कम छौँ । तर अहिले घले एकजुट नभएर संख्या कम देखिएको हो । घलेहरु कोही मगरभित्र छन्, कोही गुरुङभित्र छन् । घले खोज अभियानलाई तिब्रता दिने हो भने हाम्रो संख्यामा उल्लेखनीय वृद्धि हुनेछ ।’
पिछडिएकोचाहिँ सोह्रै आना सही हो, तर किन पिछडिएको थाहा छैन : कालीबहादुर दरै
गोरखा नगरपालिका १३ मझुवा, वडा नं. १२ राइपाली, वडा नं. १० को छेपेटार, आरुघाट र भीमसेनथापा गाउँपालिका ८ महादेवटारमा दरै जातजातिको बसोबास छ ।
उनीहरुको समुदायबाट नीति निर्माण गर्ने माथिल्लो तहमा पनि कोही छैनन् । सरकारी, गैरसरकारी ओहोदामा पनि खासै कोही छैनन् ।
पुर्णिमा दरै गोरखा नगरपालिका वडा नं. १३ को वडासदस्यसम्म निर्वाचित छिन् । प्रहरी र आर्मीको सिपाही तहमा जागिदारचाहिँ एकएक जना छन् ।
स्थानीय कालीबहादुर दरै भन्छन्, ‘हामी पिछडिएको चाहिँ सोह्रै आना सही हो, तर किन पिछडिएको थाहा छैन । पढाइ नि छैन, धन सम्पति पनि छैन त्यही भएर हो कि ?’




