
गण्डकी सरकारको बजेटमा गोरखा : लिगलिगकोट र लार्केभञ्ज्याङमा आवश्यक पूर्वाधार निर्माण गरिने
गण्डकी प्रदेश सरकारले आगामि आर्थिक बर्ष २०८०÷०८१ का लागि ल्याएको बजेटमा आंशिक रुपमा भएपनि जिल्लाका केही योजनाहरु समेटेको छ ।
शुक्रवार बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेश सरकारका अर्थमन्त्री जीतप्रकाश आलेले उत्तरी गोरखाको चुमनुव्री र धार्चे गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार र सुदृढिकरणका लागि आवश्यक बजेट विनियोजन गरिएको बताएका छन् ।
दुर्गम तथा छरिएर रहेका बस्ती क्षेत्रका विद्यालयमा आवश्यकता अनुसार ठूला विद्यालय, लिड विद्यालय, आवासीय विद्यालय निर्माण गरिने बताइएको छ । गोरखाको च्याङलीमा औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न पनि बजेट छुट्याइएको छ ।
प्रदेशका सम्भाव्य पदमार्ग तथा पर्यटकीय स्थलहरु लिगलिगकोट र लार्केभञ्ज्याङ पासको सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माणका लागि पनि बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।
मान्वु, काशीगाउँ, धुन्चेत–चुम्चेत जस्ता हिमाली तथा पहाडी क्षेत्रका नयाँ पर्यटकीय पदमार्गहरुको सम्भाव्यता अध्ययनको लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री आलेले बताए ।
पालुङ्टार नगरपालिकामा रहेको आँपपिपल अस्पताललाई सदृढिकरणका साथै स्तरोन्नति गरिने उनले जानकारी दिए । ‘प्रदेशभित्रका अस्पतालमा हाल भइरहेको सेवाग्राहीको चाप र सेवाको मागको आधारमा भौतिक संरचनाको उपलब्धता, प्रदान गरिएका सेवाहरु एवं कार्यबोझलाई मध्यनजर गरी गोरखाको आँपपिपल अस्पतालको सुदृढीकरणका साथै स्तरोन्नति गर्दै लगिनेछ । त्यसका लागि पनि बजेट विनियोजन भएको छ,’ अर्थमन्त्री आलेले भने ।
बुढीगण्डकी करिडोर, मस्र्याङ्दी करिडोर र त्रिशुली करिडोरको विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिने बताउँदै उनले कार्यान्वयनका लागि आवश्यक रकम विनियोजन गरेको बताएका छन् ।




