
पुरानो घाउ कोट्याएर मुलुकमा द्वन्द्व फर्काउन चलखेल
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले १० बर्षे द्वन्द्वको घाउलाई कोट्याएर मुलुकमा द्वन्द्व निम्त्याउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । पार्टी संगठनको काममा गृहजिल्ला गोरखा आएका डाक्टर भट्टराईले बुधबार पत्रकारहरुसंग कुराकानी गर्दै केही तत्वहरु मुलुकलाई द्वन्द्व निम्त्याउने षड्यन्त्रमा लागिरहेको बताएका हुन् ।
१० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनीविरुद्ध मुद्दा दर्ता भएको बिषयमा प्रतिक्रिया दिँदै डाक्टर भट्टराईले सो कुरा बताएका हुन् । ‘प्रचण्ड र मविरुद्ध मुद्दा हाल्नु भनेको यो पुरानो घाउलाई कोट्याएर देशलाई द्वन्द्वतिर फर्काउने केही शक्तिहरुको चलखेल छ, यसमा केहि पात्रहरुले उचालेका मात्रै हुन्, उनले भने, ‘म त्यसलाई गम्भीरतापूर्वक लिन चाहान्न । किन चाहान्न भने वृहत शान्ति सम्झौताले सबै कुराको सम्बोधन गरिसकेको छ ।’
प्रत्येक कुरालाई कोट्याएर एउटा एउटा मुद्दा यसरी नै उठाउदै जाने हो भने त्यसले देश दुर्घटनामा जान सक्ने बताउदै त्यस्तो नहोस भन्ने आफनो चाहना रहेको र यसलाई आफुले खासै महत्व नदिएको उनले बताए । सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोग गठन गरेर यी समस्याको समाधान गर्नुपर्ने उनले बताए । माओवादीले द्वन्द्वकालीन विषयहरू सङ्क्रमणकालीन न्यायका लागि गठित आयोगहरूबाट छिनोफानो गरिनुपर्ने बताउँदै आएका छन् ।
तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा भएको सशस्त्र संघर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो । यो निर्णयबाट आफूहरूको व्यवस्थापन नभएको भन्दै अयोग्य लडाकुका रूपमा लेलिन विष्टलगायतले मुद्दा दायर गरेका थिए ।
सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ ।
त्यस्तै, आधुनिक समाजवादी नीति लिएका पार्टीहरु एक ठाउँ उभिनु आजको आवश्यकता रहेको पनि उनले बताए । समावेशी र सहभागिता मुलक लोकतन्त्र, सामाजिक न्याय सहितको प्रणाली नै अहिलेको समाजवाद भएको बताउदै उनले जुनसुकै समूह र पार्टी भएता पनि यो नीतिमा सहमत हुनेहरु बीच पार्टी एकता हुन सक्ने उनले जानकारी दिए ।




