
ठिगुरेस्वाँरामा बसपार्क र बोकोर्लाेक ताल निर्माण गर्न स्थानीयको पहल
गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरास्थित कुवँरवेशीमा बसपार्क निर्माणका लागी स्थानीयले पहल थालेका छन् । करिव दुईसय रोपनी क्षेत्रफलमा बसपार्क निर्माण गर्ने उनीहरुको योजना छ ।
बसपार्क निर्माणका लागि आवश्यक समन्वय र पहल गर्न होमसिंह बस्न्यातको संयोजकत्वमा तदर्थ समिति समेत गठन भएको छ । समितिले मंगलवार पत्रकार सम्मेलन गर्दै जग्गा उपलब्ध गराउन स्थानीयहरु सहमत भएको जानकारी गराएको छ । ‘नीजि जग्गामा बसपार्क बन्ने हो,’ उनले भने, ‘सरकारले तोकेको न्यूनतम शुल्क लिएर जग्गा दिन स्थानीयहरु सबै तयार छन् ।’
बसपार्क निर्माण नगरपालिकाले गर्ने र समितिले समन्वयको भूमिका निर्वाह गर्ने बस्न्यातले बताए । ‘बसपार्क निर्माणमा नगरपालिकाले सहयोग गर्छु भनेको छ, प्रदेश सरकार र प्रधानमन्त्री पनि यसमा सकारात्मक हुनुभएकाले हामी अघि बढेका हौ’, उनले भने । उक्त बसपार्क करिव चारसयवटा बस अट्ने क्षमताको हुने बताइएको छ ।
समितिले सो क्षेत्रमा बोकोर्लाेक ताल पनि निर्माण गर्ने योजना पनि बनाएको छ । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले ताल निर्माणको योजना बनाइएको समितिले जनाएको छ ।
‘अहिले डिपिआर मात्र गर्ने हो, यसले पानीको स्रोत पुग्छ कि पुग्दैन, कति क्षेत्रफल ओगट्छ, मुआब्जा कति दिनुपर्छ सबै विवरण थाहा हुन्छ, अनि त्यही अनुसार ताल निर्माण गर्ने की नगर्ने एकिन हुन्छ,’ समिति संयोजक बस्न्यातले भने । खार खोला र बोकोर्लाेक खोलाको मुहानलाई समेटेर ताल निर्माण गर्ने योजना रहेको उनले बताए । तालको डिपिआर प्रदेश सरकारले गरिदिने आश्वासन पाएको उनको भनाइ छ ।




