| बुधबार, कार्तिक २५, २०८३

गोनपा १२ मा पाँच दिने झोल साबुन बनाउने तालिम सम्पन्न

गोरखा नगरपालिका–१२ शिखरडाँडामा संचालन भएको महिला उद्यमी सम्बन्धी ५ दिने झोल साबुन बनाउने तालिम सम्पन्न भएको छ । सत्यदेवी महिला समूहको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिमको सोमबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।

तालिममा सत्यदेवी महिला समूहका ३६ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा झोल साबुन बनाउनका लागि आवश्यक सामग्री र बनाउने तरिकाबारे प्रशिक्षण दिइएको समूहकी अध्यक्ष खकुमाया लामिछानेले बताइन् ।

कार्यक्रममा उपप्रमुख मसली माया थोकरले तालिममा सिकेको कुराहरु व्यवहारमा लागु गरेमा आगामी दिनमा थप तालिमहरु दिने प्रतिबद्धता जनाएका थिइन् । महिलाहरु आर्थिक रुपमा सबल भएकामा मात्र समाजमा महिला माथि हुने विभेद कम हुने बताउदै आर्यआर्जन बृद्धि गर्नका लागि सबै महिला उद्यमी बन्नुपर्नेमा उनले जोड दिएकी थिइन ।

वडा अध्यक्ष दिल बहादुर थापाले महिलाहरु आर्थिक रुपमा सबल बन्नका लागि तालिमले धेरै सहयोग पुग्ने बताए । वडामा संस्थागत रुपमा साबुन उद्योग खोल्नका लागि आधारभुत तालिम दिएको समेत उनले बताए ।

समूहकी अध्यक्ष लामिछानेको अध्यक्षता भएको कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख मसली माया थोकर, वडा अध्यक्ष डिल बहादुर थापा, प्रशिक्षार्थी सिता परियार, टोल विकास संस्थाका अध्यक्ष अमृता थापामगर, महेन्द्र मावि कुन्दुटारका प्रधानाध्यापक गोपालबाबु मरहट्टा, गैरसरकारी संघका सचिव बालकृष्ण लामिछाने लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्