| बुधबार, कार्तिक २५, २०८३

पशुपंछी तथा कृषिबाली बीमा भुक्तानी कार्य सुचारु गर्न माग

पशुपंछी तथा कृषिबाली बीमा भुक्तानी कार्य सुचारु गर्न जिल्लाका व्यवसायिक बाख्रापालक किसानहरुले माग गरेका छन् । आइतवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै नेपाल व्यवसायिक बाख्रापालक महासंघ गोरखाले नेपाल सरकारले बीमा कम्पनीहरुलाई दिनुपर्ने प्रिमियम शुल्क बापतको रकम अविलम्ब भुक्तानी दिई पशुपंछी तथा कृषिबाली बीमा गर्ने र बीमा दावी भुक्तानी दिने कार्य सुचारु गर्ने वातावरण निर्माण गर्न माग गरेको छ ।

विगत केही वर्षदेखि पशुपंछी तथा कृषिवाली बीमा गर्दा लाग्ने प्रिमियम शुल्कमा नेपाल सरकारले अनुदान दिदै आएको थियो । हाल नेपाल सरकारबाट पाउनुपर्ने बीमाको प्रिमियम शुल्क बापतको रकम नपाएको भन्दै बीमा कम्पनीहरुले पशुपन्छी तथा कृषिबालीको बीमा गर्ने र बीमाको दाबी भुक्तानी दिने दुवै कार्य बन्द गरेका छन् ।

बीमा कम्पनीहरुको यस कार्यबाट पशुधन तथा कृषिबालीको बीमा हुन नसकी समग्र कृषि तथा पशुपालन व्यवसाय आर्थिक रुपमा असुरक्षित हुन पुगेको र किसानहरुमा छाएको निराशाका कारण समग्र राष्ट्रिय उत्पादनमा समेत नकारात्मक असर परेको महासंघले जनाएको छ ।

आगामि आर्थिक बर्षमा देशभरका सम्पूर्ण किसानहरुको पशुपंछी तथा कृषिवाली बीमा गर्दा लाग्ने प्रिमियम शुल्कमा संघीय सरकारबाटै शतप्रतिशत अनुदान दिने व्यवस्था गरी कृषि तथा पशुपालन व्यवसायको उन्नयनमा सकारात्मक वातावरण निर्माण गर्न समेत महासंघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्