
सरकारी कार्यालयका नागरिक वडापत्र अपाङ्गमैत्री हुनुपर्नेमा जोड
गोरखाका सरकारी कार्यालयहरुले प्रवाह गर्ने उल्लेख भएको नागरिक वडापत्र अपाङ्गमैत्री बनाइनुपर्ने बताएका छन् । गोरखा नेत्रहीन संघद्वारा संचालित अपाङ्गता सहायता कक्ष सामग्रीहरु वितरण तथा जिल्ला सरकारी कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।
कार्यक्रममा नेत्रहीन संघ गोरखा सचिव परशुराम भट्टले सरकारी कार्यालयहरुमा अपाङ्गता भएका व्यक्तिहरु सेवा लिन अप्ठ्यारो भएको बताउदै कार्यालयबाट प्रवाह हुने सेवा नागरिक वडापत्र बोर्डमा मात्र नभई अडियो, भिजुअल र ब्रेल लिपिमा पनि बनाइनुपर्ने बताए । नागरिक बडापत्र सबै पहुँचयुक्त हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा संघ गोरखाका अध्यक्ष गीतामाया श्रेष्ठले प्रत्येक सरकारी भवन अपाङ्गमैत्री हुनुपर्ने, मान्छेको बढि भिड हुने ठाउँमा अपाङ्गताका लागि हेल्प डेस्क स्थापना गरिनुपर्ने बताइन् ।
जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगरले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास गर्न र उनीहरुको आर्थिक अवस्था सुधार गर्नका लागि स्थानीय तहले नीति तथा कार्यक्रम नै बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले प्रशासन कार्यालयबाट अपाङ्गता भएका व्यक्तिहरुको घरमै गएर नागरिकता वितरण गर्ने भइरहेको भइरहेको बताए । उनले गोरखा सदरमुकाममा अपाङ्गता भएका व्यक्तिहरुको सहायताका लागि खोलिएको अपाङ्गता सहयता कक्षले प्रशासन र अपाङता भएका व्यक्रि बीचमा समन्वय गर्ने काम गरिदिनुपर्ने बताए ।
प्रशासन बाहिर हुने राहदानी, राष्ट्रिय परिचय पत्रको फर्म भर्ने र फोटो कपीहरु सोही कार्यालयबाट पनि गर्न सकिएमा सहायता कक्षलाई दिगो रुपमा व्यवस्थित तरिकाले संचालन गर्न सकिने उनले बताए ।
कार्यक्रम गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकरले अपाङ्गता भएका व्यक्तिहरुको समस्या समाधानका लागि स्थानीय तहले नीति नै बनाएर नै कार्यान्वयन गरिने बताइन् ।
कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुखहरुले भने जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुलाई के कस्ता सामग्री र तालिम आवश्यक पर्छ त्यसको विवरण कार्यालयमा बुझाउन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल नेत्रहिन संघ, पुनस्थापना कार्यक्रमका कार्यक्रम निर्देशक अमृत राईले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । साथै सोहि अवसरमा नेपाल नेत्रहीन संघ पुनःस्थापना कार्यक्रम गोरखाले गोरखा नेत्रहीन संघको सहायता कक्षलाई थप व्यवस्थित बनाउन मल्टिफङ्शन कलर फोटोकपी मेसिन, रुम फिनिसिङ लगायका सामग्री हस्तान्तरण गरेका थिए । त्यस्तै, सहायता कक्ष संचालनका लागि ६ महिनासम्म एक जनाको कर्मचारीको तलबको पनि व्यवस्था गरिएको बताएको छ ।
नेत्रहीन संघ गोरखाका अध्यक्ष गीतामाया श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी पुष्कार राना, एसपी अनुपम श्रेष्ठ, उवासंघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायत सरकारी तथा गैरसकारी कार्यालय प्रमुख, पदाधिकारी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।




