| सोमवार, अशोज १८, २०८३

पालुङ्टारका विद्यार्थीले कोरोनाकालको पढाइको क्षतिपूर्ति लिँदै

कोरोनाका कारण दुई, तीनबर्ष पढ्न नपाएर पढाइमा क्षति ब्यहोरेका पालुङटारका विद्यार्थीहरुले अहिले क्षतिको परिपुरण पाउन थालेका छन् । पालुङ्टार नगरपालिकाले उनीहरुलाई निशुल्क रुपमा थप ७२ घण्टा पढ्न पाउने व्यवस्था गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि सो नगरपालिकाले फरक अभ्यासको थालनी गरेको हो ।
नगर क्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीरुको शैक्षिक स्तर वृद्धिका लागि पालुङटारले ७२ घण्टे उपचारात्मक कक्षा सञ्चालन सुरु गरेको हो ।

कोरोना सङ्क्रमणको जोखिमका बेला र अन्य विपद् बाढी पहिरो लगायतका कारण लामो समय विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले अध्ययनरत विद्यार्थीको शैक्षिक गतिविधिमा क्षति पुगेकाले क्षतिको परिपुरण भन्दै नगरपालिकाले उपचारात्मक कक्षा सुरु गरेको नगर शिक्षा शाखा प्रमुख माधव पोखरेलले बताए ।

पहिलो चरणमा ३ महिनाका लागि यो कक्षा सुरु गरिएको उनको भनाइ छ । पालुङटार नगर क्षेत्रमा रहेका कक्षा १ देखि १२ सम्मका १४ र १ देखि ८ कक्षासम्म रहेका ४ गरी १८ विद्यालयमा यो कार्यक्रम चलाइएको छ ।

जसमा पढाइमा कमजोर रहेका विद्यार्थीको पहिचान गरी एउटा बिषयमा ३६ घण्टाका दरले सोही विद्यालयमै अतिरिक्त समयमा उनलाई पढाउने गरी नगरपालिकाले नयाँ कार्यक्रमको थालनी गरेको हो ।

शिक्षा शाखा प्रमुख पोखरेलका अनुसार तत्कालका लागि ६ कक्षादेखि ८ कक्षासम्म उपचारात्मक कक्षा चलाइने र आवश्यकता परे माथिल्लो कक्षामासमेत कक्षा सञ्चालनका लागि सम्बन्धित विद्यालयलाई आग्रह गरिएको छ ।

‘अघिल्लो शैक्षिक सत्रको ५ र ८ कक्षाको नगरस्तरीय परीक्षामा विद्यार्थीको नतिजा कमजोर आयो’, शिक्षा प्रमुख पोखरेलले भने ‘हामीले शिक्षा, अभिभावक लगायत सबैसंग छलफल चलायौँ, समिक्षा ग¥यौं । कमजोर भएको कारण कोभिडका बेला पढ्न नपाएकाले हो भन्ने निष्कर्ष निक्लेपछि यस्तो कक्षा सुरु गरेका हौं ।’

उपचारात्मक कक्षामा अग्रेंजी, विज्ञान र गणित बिषयलाई केन्द्रित गरी पढाइ भएको छ । जसमा कोर्स अघि बढाउने भन्दापनि विद्यार्थीको कमजोरी पत्ता लगाई सुधार्ने गरी कार्यक्रम डिजाइन गरिएको पोखरेल बताउछन् ।

३ बिषयमध्ये तत्कालका लागि दुई बिषयमा गरी ३६÷३६ घण्टाका दरले ७२ घण्टाको कक्षा सञ्चालन हुने बताइएको छ । बैसाख दोस्रो सातादेखि सञ्चालन भएको यो कक्षा ३ महिनासम्म चल्ने बताइएको छ ।

कक्षा बिहान विद्यालय समय सुरु हुनुअघि र बेलुका विद्यालय समय सकिएपछि विद्यालयमै सञ्चालन भइरहेको त्रिवेणाी माविका प्रधानाध्यापक गणेश सेढाईले जानकारी दिए । यो कक्षाले आगामि परीक्षामा विद्यार्थीहरुको नतिजामा सुधार आउने उनको विश्वास छ ।

‘हामीले कक्षा सञ्चालन गर्नुअघि विद्यार्थीको प्रि–टेष्ट लिएका थियौ र कक्षा सकिएपछि पनि फेरि टेष्ट लिन्छौँ’, शिक्षा शाखा प्रमुख पोखरेल भन्छन्, ‘पक्कैपनि नतिजा र उनीहरुको क्षमतामा सुधारसंगै विकास हुन्छ भन्नेमा हामी ढुक्क छौँ ।’
विद्यालयलाई उपचारात्मक कक्षा पढाएबापत नगरपालिकाले अतिरिक्त पारिश्रमिकको समेत ब्यवस्था गरिदिएको छ । जसमा एक शिक्षकले प्रतिकक्षा तीन सय ५० का दरले पारिश्रमिक पाउने उनले बताए ।

हाल नगरक्षेत्रका १८ वटा सामुदायिक विद्यालयमा गरी करिब ४ हजारभन्दा बढी विद्यार्थीहरुले यो कक्षा लिइरहेको नगरपालिकाले जनाएको छ ।

पहिलो चरणको कक्षाको प्रभावकारिता, सिकाई, प्रयोग लगायत विद्यार्थीहरुको अपेक्षालाई हेरेर दोस्रो चरणको कार्यक्रम समेत अघि बढाउने योजना रहेको शिक्षा शाखा प्रमुख पोखरेलले बताए ।

पालुङटार नगरप्रमुख विवश चिन्तनका अनुसार परीक्षामा अनुतिर्ण भएका कमजोर बिद्यार्थीलाई लक्षित गरी उपचारात्मक कक्षा संचालन गरिएको हो । ‘उनीहरुलाई बर्षमा अरुलाईभन्दा ७२ घण्टा बढी पढाइ हुन्छ’, उनले भने, ‘यसले अनुतिर्ण हुने बिद्यार्थीको संख्यामा कमी ल्याउने र शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरेका छौ ।’ अतिरिक्त कक्षा संचालनका लागी प्रत्येक बिद्यालयमा २५ हजारका दरले रकम विनियोजन गरिएको उनले जानकारी दिए । ‘संघ सरकारबाटै प्राप्त बजेट हो, हामीले योजना बनाएर बाँडफाँट गरेका मात्र हौ,’ उनले भने । यस कार्यक्रमले हरेक बर्ष निरन्तरता पाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्