| बुधबार, कार्तिक २५, २०८३

एक वर्षभित्र गोरखाका तीन पालिकामा पुनविद्युतीकरण हुने

गोरखाको तीन पालिकामा पुनः विद्युतीकरण कार्यक्रम संचालन हुने भएकोे छ । धार्चे गाउँपालिका–४ को लाप्राक, वारपाक सुलिकोट गाउँपालिकाको वडा नं १, २, ३ र अजिरकोट गाउँपालिकाको वडा न. १, २, ३, ४ मा पुनविद्युतीकरण कार्यक्रम संचालन हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाले जनाएको छ ।

यी स्थानहरुमा पुनविद्युतीकरण अन्तर्गत केन्द्रीय प्रसारण लाइन विस्तारका लागि नेपाल विद्युत प्राधिकरणबाट १२ करोड रकम विनियोजन भएको छ । हाल ठेक्का सम्झौता प्रक्रियामा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाका प्रमुख चिज गुरुङले बताए । ‘धार्चे गाउँपालिका ४ लाप्राकमा नयाँ बस्तीदेखि पुरानो बस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन्छ, त्यसका लागि ट्रान्सफर्मर निर्माण र एलटी लाइन विस्तार गछौं,’ उनले भने ।

त्यस्तै, बारपाक सुलिकोटको वडा नं १ र २ मा ट्रान्सफरमर तथा लाइन विस्तार गर्ने उनले बताए । उनका अनुसार बारपाक सुलिकोटको सौरपानी र स्वाँरामा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न बाँकी छ । ‘जुन जुन ठाउँमा केन्द्रीय प्रसारण लाइन पुगेको छैन, त्यहाँ थप गर्दै ट्रान्फर्मर निर्माण गर्ने, एलटी लाइन विस्तार गर्ने काम हुन्छ,’ उनले भने ।

अजिरकोट गाउँपालिकामा वडा नं १, २, ३ र ४ मा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।
यसअघि नै केन्द्रीय प्रसारण लाइन पुगिसकेका पालिकाहरुमा पनि छुटेका ठाउँहरुको विवरण संकलन गर्ने कार्य भइरहेको कार्यालय प्रमुख गुरुङले जानकारी दिए ।

लघुजलविद्युत भएकाले जिल्लाका कतिपय स्थानका स्थानीयले केन्द्रीय प्रसारण लाइनमा जोड नदिएको उनको भनाइ छ । आगामी वर्षमा सबै पालिकामा केन्द्रीय प्रसारण लाइन सहित पुनविद्युतीकरण गर्ने लक्ष्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्