
बर्षायामलाई लक्षित गरी बारपाक सुलिकोटको मुख्य सडकहरुमा सडक हेरालु राखियो
बर्षायामको समयलाई लक्षित गरी बारपाक सुलिकोट गाउँपालिकाको मुख्य सडकहरुमा सडक हेरालु राखिएको छ । सडक मर्मत तथा हेरचाहका लागी हेरालु राखिएको गाउँपालिकाले जनाएको छ ।
पाँच महिनाका लागि १७ जना हेरालु नियुक्ती गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए । स–साना मर्मत सम्भार तथा समयमा भल निकासा सही तरिकाले हुन नसकेकाले बाटोहरुमा बढी क्षति पुग्न गएका कारण सडक हेरालुको व्यवस्था गरिएको उनले जानकारी दिए ।
नवनियुक्त सडक हेरालुहरुलाई बुधवार अभिमुखीकरण तालिम समेत दिइएको छ । कार्यक्रमकै अवसरमा उनीहरुलाई सडक मर्मत सम्भारमा प्रयोग हुने गाडा, बेल्चा, गैती, कोदाली, घन, जावेल, कराई, टेप जस्ता सामग्री र सेफ्टि केट समेत वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष बिष्णु भट्टले एक कार्यक्रमका बिच उनीहरुलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।




