
गोरखाका उद्यमी व्यवसायीहरुलाई लेबलिङ, प्याकेजिङ, बजारीकरण तालिम
गोरखामा लघु घरेलु तथा साना उद्यमी व्यवसायीलाई लेबलिङ प्याकेजिङ तथा बजारीकरण तालिम दिइएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, त्रिपुरेश्वर काठमाडौँ र गोरखा उद्योग वाणिज्य संघ, गोरखाको संयुक्त आयोजनामा दुई दिने कार्यक्रम बुधबारबाट सुरु भएको हो ।
तालिममा गोरखा जिल्लाका विभिन्न स्थानमा व्यापार, व्यवसायी गर्दै आएकाहरुलाई प्राथमिकता दिएको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भगवान मास्केले बताए । उनका अनुसार तालिममा जिल्लाका विभिन्न स्थानबाट करिब ३५ जना भन्दा बढिको सहभागिता रहेको छ । बुधबारबाट सुरु भएको तालिम विहिबार सकिनेछ ।
दुई दिने तालिममा उत्पादन सामग्रीको प्याकेजिङ, लेबलिङ गर्ने तरिका सिकाइने उनले बताए । उद्योगबाट उत्पादित बस्तुमा उत्पादन मिति, त्यसमा मिसाइएका पदार्थहरु, कम्पनीको नाम भएमा त्यसको जिम्मेवार सोही उद्योग हुने उनले बताए ।
उपभोक्ताको स्वास्थ्यप्रति उद्योगी व्यवसायी जिम्मेवार बन्नका लागि सहयोग पु¥याउन कार्यक्रम संचालन गरिएको जनाएको छ । साथै यसले कोसेली घरलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा तथा गोरखा नगरपालिकाका उपमेयर मसली माया थोकरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग प्रवद्र्धन केन्द्रका लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रका सिनियर डिभिजन इन्जिनियर अमित आचार्यले लगायतका लघु घरेलु तथा साना उद्यमी व्यवसायीहरुको सहभागिता रहेको थियो ।




