| बुधबार, कार्तिक २५, २०८३

लाप्राक समाजद्वारा सगरमाथा आरोहीसहित धार्चेका नौ जना सम्मानित

लाप्राक समाज काठमाडौद्धारा सगरमाथा आरोहण गरेका धार्चेका आठ जना सहित नौ जनालाई सम्मान गरेका छन् । समाजद्वारा शनिबार काठमाडौमा आयोजित कार्यक्रममा सगरमाथा आरोहण गरेका आठ जना र प्याराग्लाइडिङ क्षेत्रमा योगदान पुर्‍याएका एक गरी नौ जनालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा धार्चे गाउँपालिका वडा नं ४ लाप्राकका पुरबहादुर गुरुङ(युक्त), इमान गुरुङ, सुमन गुरुङ, सन्दिप गुरुङ, बिसबहादुर गुरुङ, रामबहादुर गुरुङ, वडा नं ३ उहियाका ओमबहादुर गुरुङ र वडा नं ५ सिङलाका बिसबहादुर गुरुङ रहेका छन् ।

उनीहरुले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरी किर्तिमान राख्न सफल भएका थिए । सगरमाथा आरोहण गरी आफनो गाउँको नाम राख्न सफल भएकाले उनीहरुलाई सम्मान गरिएको समाजका अध्यक्ष श्रीबहादुर गुरुङले बताए ।

त्यस्तै, वडा नं ४ लाप्राकका अनिल गुरुङलाई पनि सम्मान गरिएको छ । साहसिक खेलकुदमा रुपमा रहेको प्याराग्लाइडिङ क्षेत्रमा आबद्ध भई गाउँको नाम राख्न सफल भएकाले उनलाई पनि सम्मान गरिएको अध्यक्ष गुरुङले बताए ।

समाजले सबै जनालाई प्रशंसाको प्रमाणपत्र सहित खाता लगाएर सम्मान गरिएको उनले बताए ।

सोही कार्यक्रमकै अवसरमा समाजको आफनै जग्गा खरिद गर्नका लागि मुठी दान अभियान घोषणा भएको छ । काठमाडौमा बसोबास गर्दै आएका लाप्राककीहरुलाई विभिन्न समयमा कार्यक्रमहरु संचालन गर्न सहज होस भन्ने उद्देश्यले समाजको नाममा जग्गा खरिद गर्नका लागि मुठीदान अभियान घोषणा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । हाल रकम संकलन अभियान संचालन भइरहेको बताउदै स्वदेश तथा विदेशमा रहेका सबै लाप्राकीहरुबाट सहयोगको आह्वान गरिएको उनले बताए ।

लाप्राक समाज काठमाडौका अध्यक्ष श्री बहादुर गुरुङको अध्यक्षता तथा वडा नं ४ का वडा अध्यक्ष किसान गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य सुदिप गुरुङ, गाउँपालिकाको निवर्तमान अध्यक्ष सन्तोष गुरुङ, समाजका सल्लाहकारहरु सुनार गुरुङ, रामकुमार गुरुङ, इमानसिंह गुरुङ, मुलाल गुरुङ, मणि गुरुङ लगायत धार्चे गाउँपालिकाका स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्