
मगर भाषा संरक्षणका लागि गोरखामा प्रशिक्षक तयार हुँदै
मगर भाषा, संस्कृतिको संरक्षणका लागि गोरखामा मगर भाषा सिकाउने प्रशिक्षक तयार गर्न थालिएको छ । नेपाल मगर महिला संघ जिल्ला कार्यसमिति गोरखाले प्रशिक्षक तयार गर्न प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको हो ।
सो कार्यक्रमका लागि गोरखा नगरपालिकाको आर्थिक सहयोग उपलब्ध गराएको छ ।
गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले भाषा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई उद्घाटन गर्दै मेयर रानाले मगर समुदायको भाषा, संस्कृति संरक्षण, सम्बद्र्धनका लागि भाषा अन्यन्तै महत्व रहेको बताए । मगर भाषालाई संरक्षण गर्दैै पुस्तान्तरण गर्दै जानुपर्नेमा उनले जोड दिए । भाषा, संस्कृति संरक्षण, सम्बद्र्धन कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने उनले प्रतिबद्धता जनाएका थिए ।
बुधबारबाट सुरु भएको मगर भाषा प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारसम्म चल्ने छ । यो अवधिमा मगर जातिको इतिहास, मगर भाषा, साहित्यको इतिहास र विकासक्रम, मगर भाषाको वर्णमाला, मगर भाषा र संस्कृतिमा अभिवादन र व्याकरणीय शब्दहरुको बारेमा जानकारी गराइने जनाएको छ ।
त्यस्तै, मगर भाषाका व्याकरण, वाक्य संरचना, मगर भाषाको पाठ्यक्रम, मगर भाषाको शिक्षण विधिहरु, लिपि विकास, मगर भाषा लेखनमा प्रयोग गरिएका लिपिहरु लगायतका बारेमा प्रशिक्षण दिइने बताएको छ ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डा. विष्णुकुमार सिन्जाली मगरले प्रशिक्षण दिनेछन् ।
कार्यक्रममा गोरखा नगरपालिकाका भित्रका १४ वटा वडाबाट २५ जना भन्दा धेरै जनाको सहभागी छन् । मगर भाषा बोल्न सक्ने र भाषा सिक्न इच्छुक भएका व्यक्तिहरुलाई तालिम संचालन गरिएको नेपाल मगर महिला संघ गोरखाले जनाएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरुले आफनो भाषा, संस्कृति संरक्षणमा सबैले जोड दिनुपर्ने बताए ।
नेपाल मगर महिला संघ गोरखाका अध्यक्ष पवित्रा थापा मगरको अध्यक्षता तथा गोरखा नगरपालिका नगरप्रमुख कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षक विष्णु कुमार सिन्जाली मगर, नेपाल मगर संघका केन्द्रीय सदस्य विष्णु रानामगर, गोरखा नगरपालिकाका सामाजिक विकास कार्यालयका प्रमुख विजय उपाध्याय, नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाका उपाध्यक्ष नानुमाया थापा, नेपाल मगर महिला संघ गोरखाका उपाध्यक्ष सुधा रानामगर लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।




