
हज यात्रीको बिदाई : राजनीतिक रङ देखिएको भन्दै कार्यक्रममै विवाद !
आइतवार हज यात्रामा जानेहरुको जिल्ला प्रशासन कार्यालयमा बिदाई कार्यक्रम चल्दै थियो । आसन ग्रहण भइरहँदा कार्यक्रममा राजनीतिकरण भयो भन्दै सहभागी मध्येका एक रज्मदिन मियाँँले असन्तुष्टी जनाए ।
कार्यक्रमको ब्यानरमा कांग्रेस निकट नेपाल मुस्लिम संघको मात्र नाम उल्लेख गरेको भन्दै उनले बिरोध गरे । आयोजकका हिसावले जिल्ला प्रशासन कार्यालयले यसको जिम्मा लिनुपर्ने उनले बताए । ‘कार्यक्रममा राजनीतिक हिसावको आकांक्षा देखियो,’ नेकपा एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सल्लाहकार समेत रहेका रज्मदिन मियाँँले भने, ‘कांग्रेस निकट मात्र होइन अरु पार्टी निकट संघ संगठन पनि छन्, तर उनीहरुलाई सम्बोधन भएन ।’ संख्यामा धेरैथोरै भएपनि सबै संघ संगठनलाई समान व्यवहार गर्नुपर्ने उनले बताए । ‘हजको कार्यक्रम हो कि राजनीति संगठनको’ भन्दै उनले प्रश्न समेत गरे ।
उनको बिरोधपछि कार्यक्रम हलमा खैलाबैला भयो । कार्यक्रम संचालक समेत अकमक्क परे । खैलाबैला मच्चिन थालेपछि बसिरहेको कुर्चीबाट प्रमुख जिल्ला अधिकारी उठे र सम्झाउन थाले । उनले भने, ‘नेपाल मुस्लिम संघ कांग्रेस निकट संस्था हो भन्ने मलाई थाहा थिएन, अहिले हजुरहरुले भनेपछि थाहा भयो । केही दिनदेखि कार्यालयमा कर्मचारीको संख्या कम भएकाले पनि मैले राम्रोसँग समन्वय गर्न पाइन, राजनीतिकरण गर्न खोजेको रुपमा यसलाई नबुझिदिनुहोला, प्रशासनको तर्फबाट केही कमजोरी भएको भए म माफी चाहन्छु ।’ प्रजिअले यति भनेपछि हल्ला शान्त भयो अनि कार्यक्रम अघि बढ्यो । अतिथिहरुले हज यात्रामा सहभागी हुनेहरुलाई पूmलको गुच्छा दिएर बिदाई गरे ।
यसबर्ष गोरखाबाट २३ जना हज यात्राका लागि साउदी अरवको मक्का र मदिना जादैछन् । अमिना मियाँ, अमल लिन मियाँँ, लव्दुल मियाँँ, तस्लीमा मियाँँ, हिकम दिन मियाँँ, खलि उल्ला मियाँँ, दिन मामद मियाँँ, चेन्जेरा बिबी, तेज वकस मियाँँ, सलिमा बिबी र सविर वकस मियाँँ यात्रामा सहभागी हुने छन् ।
त्यस्तै रन्जानी मियाँ, सलामदिन मियाँ, नसिरा बिबी, अज दिन मियाँ, यासिर माया, जोहोरा बिबी, इस्माइल दिन मियाँ, जरिना बिबी, अमरजु मियाँ, रज्म दिन मियाँ, कसिरा बेगम र नियामुदिन मियाँ पनि हजका लागि छनोट भएका छन् । मक्का मदिनामा हजका लागि जिल्लाबाट २३ जनाले फाराम भरेका थिए । उनीहरु सबै हजका लागि छनोट भएका हुन् । उनीहरु जेठ १८ गते साउदी प्रस्थान गर्ने बताइएको छ । करिव डेढ महिना उनीहरु हजमा सहभागी हुने छन् ।
हजमा सहभागी भएपछि पुण्य कमाइने मुस्लिम समुदायहरुको धार्मिक बिश्वास छ । हज यात्रामा सहभागी हुनेले जनही चार लाख ६५ हजार रकम नेपाल सरकारलाई बुझाउनुपर्ने छ । उक्त रकमको खर्चमा पनि पारदर्शिता नभएको भन्दै रज्मदिन मियाँले कार्यक्रममा आवाज उठाएका थिए ।
नेपाल मुस्लिम संघका जिल्ला अध्यक्ष जमिल मियाँको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन थापाको प्रमुख अतिथ्यतामा भएको बिदाई कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला प्रहरी प्रमुख एसपी अनुमप श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।




