
कालिका मन्दिर प्रवलिकरण : थपेकोम्याद पनि सकियो तर काम सकिएन
२०७२ सालको भूकम्पले क्षति पुगेको कालिका मन्दिर प्रवलिकरणको काममा ढिलासुस्ती भएको छ । थप भएको म्याद गुजिँ्रदासमेत काम सम्पन्न हुन सकेको छैन ।
प्रवलिकरणका लागि २०७८ साल साउन १५ गते धर्म एस÷आरआर जेभीसँगै सम्झौता भएको हो । सम्झौता अनुसार २०७९ साल असार १५ गते काम सक्नुपर्ने थियो । सम्पन्न नभएपछि पुरातत्व बिभागले चैत्र मसान्तसम्म म्याद थप ग¥यो । तर थप भएको म्यादमा पनि काम सम्पन्न हुन सकेन ।
गोरखा दरवार पुनर्निर्माणमा पनि ढिलासुस्ती भएको थियो । ठेकेदारको लापरवाहीका कारण पटक पटक थप भएको समयमा पनि काम सम्पन्न हुन सकेको थिएन ।
थप म्याद सकिएपनि काम भने नरोकिएको गोरखा दरवार हेरचाह अड्डाले जनाएको छ । करिव ९० प्रतिशत काम सम्पन्न भइसकेको कार्यालय प्रमुख हरि भुसालले बताए । ‘छाना छाउने काम मात्र बाँकी छ, त्यो काम सकेपछि भक्तजनका लागि खुल्ला गर्छाै,’ उनले भने । प्रवलिकरण भइरहे पनि वडा दशैँ र चैते दशैँको समयमा भक्तजनलाई कालिका मन्दिरमै पूजाआजा गर्ने व्यवस्था मिलाउँदै आएको उनले जानकारी दिए ।
‘अष्टमीहरुमा पनि भक्तजनको भीड थेग्न सकिन्न, त्यसैले काम रोकेर भएपनि त्यो बेला कालिका मन्दिरमै पूजाआजा गर्ने व्यवस्था मिलाउदै आएका छौ,’ भुसालले भने ।
एक करोड ९५ लाख रुपैयाँ लागतमा कालिका मन्दिर प्रवलिकरणको काम भएको हो । उक्त रकमले धसिएको मन्दिरको पश्चिम र पश्चिम(दक्षिण तर्फको गारो मजवुद बनाउने काम भएको कार्यालयले जनाएको छ । त्यस्तै टेका लगाएर वालहरु मिलाउने र कोठाका पुराना फलेकहरु फेरेर नयाँ राख्ने काम समेत भएको बताइएको छ ।




