
सार्वजनिक सेवा प्रवाह र सुशासन कायम गर्न जिम्मेवार भएर लाग्न आग्रह
गोरखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सार्वजनिक सेवा प्रवाह र सुशासन कायम गर्न जिम्मेवार भएर लाग्न सुझाव दिएका छन् । गोरखा नगरपालिकाकाको न्यायिक समितिको आर्थिक सहयोगमा शनिबार सम्पन्न भएको सेवा प्रदान तथा सुशासन सम्बन्धी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सो कुरा बताएका हुन् ।
नगरपालिकाका कर्मचारी र जनप्रनिधिलाई सार्वजनिक सेवा र सुशासनसम्बन्धी धारणा राख्ने क्रममा उनले राज्यका तर्फबाट प्रदान गरिने सेवालाई समायानुकुल सहज र सरल रुपमा नागरिकसमक्ष उपलव्ध गराउन आग्रह गरेका हुन् । सो क्रममा उनले सार्वजनिक सेवा र सुशासन कायम गर्न नेतृत्व, सार्वजनिक सेवा प्रवाहका मूल्यहरु, शान्ति सुरक्षा, विपद व्यवस्थापन, स्थानीय सरकारको विद्यमान चुनौती तथा समस्या र समाधान र केही तथ्यहरु र चिन्तन मन्थनका विषयमा उनको प्रस्तुतीकरण रहेको थियो ।
नेतृत्व गर्ने क्षमता सिनियर र उमेर अनुसार नभई छुट्टै भिजन र दृष्टिकोणका आधारमा हुने उनको तर्क छ । सार्वजनिक सेवाको मुख्य कर्ता स्थानीय सरकार भएकाले राज्यसँग जोडिएका सेवा प्रवाह सहज, सरल र सुलभ रुपमा प्रदान गर्न कर्मचारी र जनप्रनिधिहरु जनताको सेवामा समर्पित भएर लाग्नुपर्ने बताए ।
दोस्रो चरण अपराध नियन्त्रण, शान्ति, सुरक्षामा स्थानीय सरकारको भूमिकाका विषयमा जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठको प्रस्तुतीकरण रहेको थियो ।
कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाले सार्वजनिक सेवा प्रवाह र सुशासनको बारेमा जानकारी हुँदा पनि व्यवहारमा कार्यान्वयन नहुदा समस्या हुने गरेको बताए । नगरप्रमुख रानाले जनप्रनिधि र कर्मचारीहरुलाई जनताको गुनासो नआउने गरी सरल, सहज तरिकाले सेवा प्रवाह गर्न आग्रह गरेका थिए । जनताको काममा ढिलासुस्ती नहुने गरी जिम्मेवारी बोध भएर काम गर्नुपर्ने उनको भनाइ छ ।
गोरखा नगरपालिकाका उप्रमुख तथा न्यायिक समितिका संयोजक मसलीमाया थोकरले सार्वजनिक सेवा प्रवाह र सुशासन कायम गर्नु स्थानीय सरकारको मुख्य दायित्व भएको बताइन् । जनप्रतिनिधिबाट नागरिकले ठूलो आशा राखेको बताउदै जनप्रतिनिधि र कर्मचारी सबैले भुइँ मान्छेले पनि सहज र सरल रुपमा सार्वजनिक सेवा र सुशासन प्राप्त गर्न मिल्ने गरी काम गर्नुपर्ने बताइन् ।
नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मसली माया थोकरको अध्यक्षता तथा नगरप्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाको कार्यपालिका सदस्य, वडा अध्यक्ष, नगरपालिकाका विषयगत शाखाप्रमुख लगायतको उपस्थिति रहेको थियो ।




