| बुधबार, कार्तिक २५, २०८३

यार्सागुम्बा टिप्ने ठाउँमा अझै हिउँ, स्थानीय चिन्तित

लेक पूरै हिउँले ढाकेर यार्सागुम्बा टिप्न नपाएपछि दुईसाताअघि लेक पुगेका छेकम्पारका बासिन्दा चिन्तित भएका छन् । यसबर्ष हिउँ ढिला परेको र आधा जेठ बितिसक्दा पनि हिउँ परिरहेकाले यार्सागुम्बा संकलन गर्न नपाएको लेक पुगेर फर्केका छिरिङ लामाले बताए ।

‘हिँजो पनि आधाफिट हिउँ प¥यो । गाउँलेहरु पालभित्रको भित्रै छन् । मचाहिँ घर छोडेको धेरै भयो एकफेर घर हेरेर आउँछु भनेर गाउँमा आएको छु’, छिरिङ भन्छन्, ‘लेक गएको दुई हप्ता भयो, अहिलेसम्म जम्मा ५०, ६० वटा जम्मा पारेको छु । कुनै दिनमा आठ दसवटा फेला पर्छ, कुनैदिन रित्तै फर्कनुपर्छ ।’ यार्सागुम्बा संकलन गर्ने भूभाग सबैतिर हिउँले ढाकेको उनले बताए ।

दुई, अढाइ महिनालाई पुग्ने रासनपानी लिएर गएकाले यार्सागुम्बा टिप्न नपाएपनि गाउँलेहरु उतै पालभित्र बसिरहेका छन् । ‘अब दुईहप्तासम्म हिउँ उठेन र यार्सागुम्बा हिउँभित्रै भइरह्यो भने कुहिनेछ । अनि बर्षदिनमा एकफेर यही यार्सागुम्बा बेचेर पैसाको मुख देख्न पाइन्थ्यो । पैसाको मुख देख्नै नपाइने भयो’, छिरिङ भन्छन्, ‘त्यही भएर गाउँलेहरु चिन्तित छन् ।’
चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा गाउँको घरमा ताल्चा लगाएर यार्सागुम्बा संकलन गर्न छेके तथा बाजु लेक गएका छन् ।

तर सो गाउँपालिकाको वडा नं. १ सामागाउँका बासिन्दा भने अझैपनि यार्सागुम्बा संकलन गर्न गएका छैनन् । सामागाउँमा यार्सागुम्बाको सिजन अझै नआइसकेको स्थानीय मिङ्मा छिरिङको भनाइ छ ।

यस भेगको मुख्य आम्दानीको स्रोत नै यार्सागुम्बा हो । त्यसैले सिजन लागेपछि घरमा ढोका थुनेर सबै घरपरिबार यार्सागुम्बा संकलन गर्न लेकतिर जाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्