अशान्ति मच्चाउने र प्रहरीको ड्यूटीमा बाधा पुर्याउने पाँच जना बिरुद्ध सार्वजनिक शान्ति बिरुद्धको मुद्धा
रातको समयमा जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा होहल्ला गर्दै अशान्ति मच्चाएको आरोपमा एक युवक पक्राउ परेका छन् । राति करिव दशबजेको समयमा स्टाफ कोठाको ढोका ढकढकाई स्टाफहरुमाथि हातपात गर्न खोज्ने अजिरकोट गाउँपालिका–५ का २२ बर्षीय अनिल बिकलाई मंगलवार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्झाइ बुझाइ गर्ने क्रममा बिकले प्रहरी टोलीलाई नै अपशब्द प्रयोग गरी तथानाम गाली गरेका थिए । बिक बिरुद्ध सार्वजनिक शान्ति बिरुद्धको कसुर शीर्षकमा मुद्धा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको डिएसपी लिलाराज लामिछानेले बताए ।
यता प्रहरीमाथि अपशब्द प्रयोग गरी ड्यूटीमा बाधा पु¥याएको आरोपमा बारपाक सुलिकोट गाउँपालिका–४ घुन्चोक सिमथलीका काजी मग्राती पक्राउ परेका छन् । २५ बर्षीय उनलाई वुधवार पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा मग्रातीलाई फेला पारेपछि सोधपुछ गरेको थियो । सोही क्रममा उनले ड्यूटीमा खटिएका प्रहरीमाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । पक्राउ परेका मग्रातीलाई सार्वजनिक शान्ति बिरुद्धको कसुर शिर्षकमा मुद्धा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
रातको समयमा मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै अशान्ति मच्चाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–५ का राम कुँवर, वडा नम्वर ८ का अजय गुरुङ र वडा नम्वर ४ का दिनेश थापा रहेका छन् । वुधवार राती करिव ११ बजे मापसे गरी होहल्ला गरिरहेको अवस्थामा फेला पारी सोधपुछ गर्दा प्रहरीलाई नै अपशब्द प्रयोग गरी तथानाम गाली गलौज तथा धाकधम्की दिएको डिएसपी लामिछानेले बताए । ड्युटीमा अवरोध पु¥याएकाले उनीहरुलाई पक्राउ गरिएको र सार्वजनिक शान्ति बिरुद्धको कसुर शीर्षकमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।




