
गण्डकीमा दलित तथा सीमान्तकृत समुदायलाई बाख्रा वितरण
गोरखाको गण्डकी गाउँपालिकामा वडामा १ र २ मा गरिबी न्यूनीकरण कार्यक्रम अन्तरगत बाख्रा वितरण गरिएको छ । दलित तथा सीमान्तकृत समुदायको विकासका लागि गरिबी न्यूनीकरण तथा क्षमता विकास कार्यक्रम अन्तरग उनीहरुलाई बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सोमबार वडा १ को बुटारमा बुटार दलित कृषक समूहलाई ४० वटा बाख्रा वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख एन्जिला देवकाटोले बताइन् । मंगलबार वडा नं २ को भलायडाँडा चेपाङ महिला कृषक समूहलाई ४४ वटा बाख्रा वितरण गरिएको उनले बताइन् ।
दलित तथा सीमान्तकृत समुदायको विकासका लागि गरिबी न्यूनीकरण तथा क्षमता विकास कार्यक्रम अन्तरगत वडा नं १ देखि ८ सम्मका पालिकाका दर्ता भएका समूहहरुलाई उनीहरुकै माग अनुसार कार्यक्रम आयोजना गरिएको हो ।
हालसम्म दलित तथा सीमान्तकृत समुदायबाट पालिकामा ३२ वटा समूह दर्ता भएका छन् । समूहको माग अनुसार कार्यक्रम आयोजना गरिएको बताउदै गरिबी न्यूनीकरण अन्तरगत बाख्रा, भैसीको पाडी, तरकार खेतीका लागि मल र विउ र क्षमता विकास कार्यक्रम अन्तरग सिलाई बुनाइ तालिम संचालन हुने उनले बताइन् ।
वडा नं १ र ८ मा क्षमता विकास कार्यक्रम अन्तरग सिलाई बुनाई तालिमको माग आएको र अन्य वडाहरुमा तरकारीको बीउ, भैसीको पाडी, बाख्राको माग आएको उनले बताए । हाल सम्म १ र २ वडामा वितरण भइसकेको र अन्य वडामा वितरण गर्न बाँकी रहेको जनाएको छ ।
यसले दलित तथा सीमान्तकृत समुदायको आजआर्जनमा वृद्धि भइ जीवनस्तर सुधार गर्न मद्धत पुग्ने अपेक्षा लिएको छ ।
यस अघिका वर्षहरुमा पनि समूहको माग अनुसार बाख्रा, भैसीको पाडी वितरण गरिदै आएको र पालिकाबाट अनुगमनको क्रममा सो कार्यक्रम प्रभावकारी देखिएपछि यो वर्ष पनि सोहि कार्यक्रम संचालन गरिएको उनले जानकारी दिए ।
यसका लागि संघ सरकारबाट विशेष अनुदानमा ८३ लाख रुपैया विनियोजन भएर आएको छ । कृषकहरुलाई वितरण गरिएको बाख्राहरु पालिका भित्रकै कृषकहरुबाट खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।




