| बुधबार, कार्तिक २५, २०८३

दरौदी नदीमा सशस्त्र प्रहरीको मनसुनजन्य विपदको उद्धार सम्बन्धी नमूना अभ्यास

‘मान्छे डुब्यो’, शुक्रवार दिउँसो करिव साँढे दुई बजेतिर छेवेटारस्थित दरौदी नदी आसपास एक्कासी कोही चिच्यायो । वरपरका मान्छे नदी आसपास एकीकृत भए । नदीको गहिरो भागमा फँसेका एक व्यक्ति डुब्न लागेको दृश्य देखेपछि हारगुहार गर्न थाले ।

केही क्षणपछि सशस्त्र प्रहरी बल गोरखा गुल्मको उद्धार टोली त्यहाँ पुग्यो । ‘इप्रोभाइट म्याट्रेस बोट’ लिएर नदीमा प्रवेश गरे । डुबेको व्यक्तिलाई किनारामा ल्याए । अचेत अवस्थामा रहेका ती व्यक्तिको ‘रेस्क्यू टिम’ र नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका टोलीले प्राथमिक उपचार सुरु गरे । छातिमा प्रेस गर्न थाले । कृत्रिम श्वास दिए । तर बिरामी होसमा नआएपछि एम्वुलेन्स मार्फत नजिकैको अस्पतालमा लगियो ।

सोही दिन पौडी खेल्ने क्रममा बगाएर वेपत्ता भएका एक व्यक्तिको शव पनि निकालियो । खोचमा फेला परेको शवलाई किनारामा ल्याई ‘हाइएङ्गल’ बिधिद्वारा नदीमाथिको पुलमा लगियो । बिशेष गरी नदीसम्म जाने बाटो नभएको स्थानमा यो विधि अपनाइने सशस्त्र प्रहरी बल गुल्म गोरखाका डिएसपी सुजित विष्टले बताए ।

शुक्रवार देखिएका यी सबै दृश्य वास्तविक नभई मनसुनजन्य विपदको उद्धार सम्बन्धी नमूना अभ्यास थियो । सशस्त्र प्रहरी बल गुल्म गोरखाको आयोजनामा उद्धारको नमूना अभ्यास गरिएको हो । छेवेटारको नदी किनारमा भएको अभ्यासमा खोला तथा नदीमा उद्धारका लागि प्रयोग हुने घरेलु विधिबारे पनि जानकारी गराइएको थियो । पानीको बोत्तल, केराको थाम, म्याट्रेस बोट र थ्रो ब्याक विधि अपनाउन सकिने डिएसपी बिष्टले बताए ।

मनसुनजन्य विपदबाट बच्नका लागि स्थानीय स्तरमा हुने स्रोत साधनहरुबाट पनि बिभिन्न उपकरण तयार गरी उद्धार गर्न सकिन्छ भन्ने कुराको समेत प्रदर्शन मार्फत जानकारी गराइएको उनले जानकारी दिए । स्रोत साधन अभावका कारण विपदपछिको उद्धारमा समस्या हुने गरेको उनको भनाइ छ ।

कार्यक्रममा गोरखा नगरपालिका मेयर कृष्ण राना, नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेमराज बिष्ट, नेपाल प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्