
खोर्ला गाउँमा मह–उत्सव, खलकै महसिकारी
भारतीय सेनामा कार्यरत धार्चे ३ खोर्लाका धनराज गुरुङ एकसाताअघि छुट्टीमा आए । निम्रुङखोलामा मह उत्सव हुने दिन नजिकिएपछि उनी घर विदामा आएका हुन् ।
उनी आएपछि गत जेठ १ गतेदेखि गाउँमा मह सिकारको सिजन सुरु भएको छ । सुरुमा निम्रुङखोलामा मह उत्सव गरेर सिजन सुरु हुन्छ । निम्रुङखोलाको छाँगोमा सामुहिक मह सिकार गरिन्छ, त्यसपछि अरु ठाउँको महसिकार हुन्छ । यहाँबाहेक अरु ठाउँमा आ–आफ्नो क्षेत्र छुट्याई मह सिकार गरिन्छ । गत मंगलबारदेखि निम्रुङखोलामा भीरमौरीको मह सिकार सुरु भएको छ । धार्चे गाउँपालिकाको सहयोगमा त्यहाँ केही बर्षअघिदेखि मह सिकारलाई उत्सवकै रुपमा मनाउने गरिन्छ ।
धनराज सिकारु मह सिकारी हुन् । अथवा उनी मह सिकारीका सहयोगी हुन् । उनका बुबा सूर्य गुरुङ अग्रपंक्तीका मह सिकारी हुन् । केहीबर्ष अघिसम्म हजूरबुबा डम्बर गुरुङ प्रमुख सिकारी थिए । छोरा र नातिले मह सिकारको अभिभारामा काँध हालेपछि ७७ बर्षका डम्बर गुरुङ अहिले खुशी छन् ।
‘मह सिकार गर्न थालेको हाम्रो आठ पुस्ता भयो’, उनी भन्छन्, ‘खोर्ला गाउँको सबैभन्दा पहिलो मह सिकारी हाम्रो पुर्खा टुनी हुन् । त्यसपछि हाम्रो बाजे दमै गुरुङले सिकार गर्न थाले । त्यसपछि हाम्रो बाउ कुम्सिङ, बाउपछि हाम्रो दाइ लालबहादुर, दाइपछि म डम्बर, अहिलेचाहिँ छोरा सूर्यबहादुरले सिकार गरिरहेको छ । नाति धनराजले पनि सिक्न थालेको छ ।’ मह सिकार गर्दागर्दै हजुरबुबा दुलु गुरुङ डोरीबाट खोलामा खसेर मृत्यू भएको उनले बताए ।
हजूरबुबाको मृत्यू भएपनि आफूहरु कर्तव्यबाट पछि नहटेको उनको भनाइ छ । ‘बाजे डोरीबाट खसे भनेर डराएर काम छाड्ने कुरै भएन’, उनी भन्छन्, ‘बाजे खसेपनि बुबाले काम सम्हाले । बुबा नसक्ने भएपछि दाइले सम्हाले । दाइपछि मैले सम्हालेको हुँ । अहिले छोराले सम्हालेको छ ।’ नयाँपुस्ताका नातिले पनि पुर्खाको काममा चासो देखाएपछि औधी खुशी लागेको उनको भनाइ छ । ‘जति जोखिम भए पनि मह निकाल्न छोरानाति तम्सिँदा औधी खुशी लागेको छ’, उनले भने, ‘भीरमौरीको मह धेरै रोग बिमारको औषधी हो । यो निकाल्ने सामाजिक काम हो । मह बेचेर गाउँलेलाई दुईचार पैसा कमाइ पनि हुन्छ । मह बेचेको पैसाले समितिको कोषमा अलिअलि बचत पनि हुन्छ ।’ यसबर्ष मह काढ्यो भने अर्कोबर्ष पनि मौरीले चाका लाउने उनको भनाइ छ । ‘मह काढेन भने मह सुकेर पनि जान्छ । अर्कोबर्ष त्यहाँ आउँदा पनि आउँदैन’, उनले भने, ‘त्यसैले मह सिकार गर्नुपर्छ ।’
अहिले गोरखाका लेकतिर मह सिकार गर्ने सिजन सुरु भएको छ । विशेषगरी २२ सय मिटर भन्दा अग्ला लेकहरुमा अहिले दैनिक भीरमौरीको मह सिकार हुन्छन् ।
गोरखाको विशेषगरी धार्चे र अजीरकोट गाउँपालिकाका लेकहरुमा मह सिकार गर्ने गरिन्छ । धार्चेको वडा नं. ३ को उहिया, खोर्ला, वडा नं. ४ को लाप्राक, वडा नं. १ को हुल्चुक, वडा नं. ७ को नौली खोलामा भीरमौरीको महसिकार गरिँदैछ ।
‘अग्लो भीर र ठूलो खोलाको छहराको छेउछाउ, अप्ठ्यारो ठाउँमा मौरीले मह पार्छ’, सिङ्लाका राज गुरुङ भन्छन्, ‘सबैभन्दा धेरै यहाँ निम्रुङ खोलामा २१ वटा मौरीको चाका छ । मूलबाटोबाट सबैभन्दा नजिक पर्ने र खोर्ला गाउँबाट पनि नजिक पर्ने भएकाले यहाँचाहिँ गाउँपालिकाले उत्सवको रुपमा मनाउने गरेको छ ।’
गाउँका धामी, जैसीले भीरमौरीको सिकार गर्ने साइत जुराउँछन् । मह सिकार गर्ने मुख्य सिकारीको सल्लाह सुझाव अनुसार सिकार गर्ने अघिल्लो दिनमा गाउँका मर्द, जवानहरू महको गोला आसपास सरसफाइ गर्न भेला हुन्छन् । महिला र पुरुषले गर्ने कामहरुको श्रम विभाजन गर्छन् ।
झाडी फाँड्ने, खोलामा फड्के हाल्ने, भीर चढ्नका लागि डोरीको भ¥याङ बनाउने, मौरी धपाउन धुवाँ लगाउने भाँडा बनाउने, मह काढ्ने घोचा बनाउने, चाका काट्ने र भुइँमा झार्ने उपकरणहरू बनाउँछन् ।
मह काढ्दा अप्रिय घटना नहोओन् भनेर अघिल्लो दिनको साँझमा कुखुरा काटेर स्थानीय सिमेभुमे पूजा गर्छन् । त्यसरात कतिपय मौरीको गोलो कुरेर जंगलमै बास बस्छन्, कतिपय घर फर्कन्छन् । भोलिपल्ट बिहान झिस्मिसेमै खाना खाईवरी दिउसोलाई झोलाभरि खाजा लिएर मह सिकार गर्न जान्छन् ।
यहाँको महसिकार गर्नका लागि गाउँभरिका बासिन्दा हरेक घरको कम्तिमा एकजनाका दरले उपस्थित हुन्छन् । त्यहाँको सकेपछि त्यहाँभन्दा माथिको मौरीको सिकार गर्न अलगअलग जाने चलन हुन्छ’, उनी भन्छन्, ‘सामुहिक रूपमा मह काढ्दाचाहिँ पुरुष आलोपालो गरी मह काढ्ने, कोही डोरी समात्ने, कोही डोकोहरू पुग्न दिने, कोही मह भरेर पठाएको डोको समात्ने, कोही ओसार्ने गर्छन् ।
महिला चाहिँ मौरी भगाउन सुकेको र हरियो स्याउला पोलेर धुवाँ उँडाउने, चाका निचोरेर मह बनाउने, मह काढ्न भेला भएका सिकारी दललाई घरबाट लगेको खाजा खुवाउने काम गर्छन् । उत्सवमा भेला भएकाहरूलाई दामासाहीले मह बाँड्ने काम पनि उनीहरूले नै गर्छन् ।’
मह–उत्सवको उद्घाटनका दिन गत मंगलबार गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, वडाअध्यक्ष शेरबहादुर गुरुङले भीर मौरीको संरक्षण गर्नुपर्ने, मह सिकारलाई प्रवद्र्धन गर्दै जानुपर्ने, त्यहाँसम्म पुग्ने बाटो सहज बनाउनु पर्ने, मह काढ्ने उपकरणहरु सुरक्षित हुनुपर्नेमा जोड दिएका थिए । साथै महसिकारका लागि स्थानीय सरकार जिम्मेवार रहेको बताएका थिए । महसिकारका कारण यस क्षेत्रको पर्यटन विकास गर्ने लक्ष्य गाउँपालिकाको रहेको पालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।




