
गोरखाका तीन पालिकामा फलफुल विशेष परियोजना लागू हुने
जिल्लाका तीन पालिकामा फलफूलको विशेष परियोजना लागू हुने भएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलपूmल विकास आयोजना प्रादेशिक आयोजना कार्यान्वयन एकाई, गण्डकी प्रदेशका अनुसार पालुङटार नगरपालिका, सिरानचोक र आरुघाट गाउँपालिकामा यो कार्यक्रम लागु हुनेछ ।
परियोजनाका लागी देशभर ३४ जिल्लाको एक सय पालिका छनौट भएका छन् । ति मध्ये धेरै गण्डकी प्रदेशका रहेका छन् । गण्डकी प्रदेशको दश जिल्लाको ३४ पालिकामा यो परियोजना लागू हुने बताइएको छ । गण्डकी प्रदेशभर परियोजना लागू हुने क्षेत्रफल २५ सय हेक्टर रहेको छ ।
जस अन्तरगत १ सय हेक्टरमा स्याउ, ८ सय हेक्टरमा सुन्तला, ७ सय ५० हेक्टरमा कागती, १ सय ५० हेक्टरमा एभोकाडो, १ सय ५० हेक्टरमा किवी, २ सय ५० हेक्टरमा ओखर र २ सय ५० हेक्टरमा मेकाडेमियानट खेती हुने छ । २ हजार ३ सय ५० हेक्टर क्षेत्रमा नयाँ बगौँचा निमाण गरिनेछ ।
ग्रामीण घरपरिवारको जीवनस्तर सुधार्ने र किसानको जलवायु परिवर्तन अनुकूलन क्षमता सुधार गर्ने लक्ष्य सहित कार्यक्रम घोषण गरिएको प्रदेश कृषि निर्देशनालयका निर्देशक बासु रेग्मीले जानकारी दिए । नेपाल सरकार र एसियाली विकास बैकको सहयोग तथा अनुदानमा परियोजना लागू गर्न लागिएको हो । परियोजनाले फलफुलको आयातदर घटाउनुका साथै कृषि आम्दानीमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
देशभर एक हजार हेक्टरमा तरकारी तथा रैथाने बाली खेती गर्ने र दश हजार हेक्टरमा कागजी बदाम, स्याउ, एभोकाडो, कागती, सुन्तला, जुनार, किवी, मेकाडेमिया नट, पिकानट र ओखरका बगैचा स्थापना गर्ने कार्यक्रम रहेको प्रादेशिक आयोजना कार्यान्वयन एकाई, गण्डकी प्रदेशले जनाएको छ । परियोजनाको कुल बजेट करिब १२ अर्ब ५५ करोड रहेको छ ।




