
पालुङटारमा असिना पानीले मेवा खेतीमा क्षति
सोमवारको असिना पानीले पालुङटार नगरपालिका–६ को मेवा खेतीमा क्षति पु¥याएको छ ।
करिव दश रोपनी क्षेत्रफलमा गरिएको खेती असिनाले नष्ट गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गाइखुर कृषि फार्म मार्फत स्थानीय रमेश श्रेष्ठले ‘रेड लेडी’ जातको एक हजार विरुवा लगाएका थिए । तर रोपेको केही दिनमै असिना पानीले बिरुवा नष्ट गरेको श्रेष्ठले बताए । उनका अनुसार पाँच सय विरुवा नष्ट भएको छ । ‘असिना पानीले बिरुवाको डाँठ र मुन्टा सबै भाचिदिएको छ,’ उनले भने ।
श्रेष्ठले जग्गा लिजमा लिएर मेवा खेती शुरु गरेका हुन् । कृषि ज्ञान केन्द्रको साना व्यवसायी कृषि फर्म स्थापना अन्तरगत श्रेष्ठसँग अनुदान सम्झौता समेत भएको छ ।
अनुदान स्वरुप उनले दुई लाख रकम पाउने छन् । तर सुरुवातमै असिना पानीले क्षति पुगेपछि उनी चिन्तित बनेका छन् ।




