| बुधबार, कार्तिक २५, २०८३

टाढालाई दुर्गमभत्ता छैन, नजिकलाई छ

एक शिक्षक व्याङ्ग्य गर्दै भन्छन्, – ‘यसपाल त हाम्रो गाउ“मा पनि मोटरबाटो पुगेको छ, अब त दुर्गम भत्ता पाइन्छ कि ?’

दुर्गम ठाउँमा गएर सेवा दिएबापत राष्ट्रसेवक कर्मचारीलाई सरकारले दिने दुर्गम भत्तामा गोरखामा चरम भेदभाव भएको छ । भूगोलको सापेक्षतामा नभै पहुँचको आधारमा दुर्गमभत्ताको व्यवस्था गरिएको पिडित क्षेत्रका शिक्षक, कर्मचारीको गुनासो छ ।
शिवराज नगरपालिका ३ कपिलबस्तुका शिक्षक जमुना भारती गोरखाको दुर्गम धार्चे गाउँपालिका ३ को दुङ्ला आधारभूत विद्यालयमा पढाउँछन् ।

वुद्धभूमि नगरपालिका रुपन्देहीका भरत केवट पनि गोरखाकै भवानी मावि मान्बुमा पढाउँछन् ।
संगसंगै घरबाट निस्केपछि गोरखाको सोतीसम्म उनीहरुको यात्रा संगसंगै हुन्छ । केवट सोती झरेर १५ मिनेट जीप चढेपछि मान्बु पुग्छन् ।

तर भारतीलाई दुङ्ला पुग्न अझै एकघण्टा बस र अर्को एकघण्टा जीप अनि थप तीनघण्टा पैदल यात्रा गर्नुपर्छ । पाँचघण्टाको बाटो वर मान्बुमा कार्यरत केवटले स्केलमा ११ हजार ११० रुपैयाँ दुर्गमभत्ता जोडेर तलव पाउँछन् तर उनीभन्दा पाँचघण्टाको बाटो धेरै हिड्नुपर्ने भारतीले दुर्गम भत्ता पाउँदैनन् ।

बर्दियाको बाह्रबर्दिया नगरपालिका ११ की बुधरानी चौधरी धार्चे ३ गोरखाको दुङ्ला आधारभूत विद्यालयमा पढाउँछिन् । कालिकोटका अलबहादुर रोकाया पनि धार्चे १ गोरखाकै इच्छा आधारभूत विद्यालय हुलचुकमा पढाउँछन् । घरबाट संगसंगै आउँदा दुवैजना दोभानसम्म संगै हुन्छन् । चौधरी दोभानबाट तीनघण्टाको बाटो उकालो हिँडेपछि दुङ्ला पुग्छिन् भने रोकायालाई हुलचुक पुग्न दुईघण्टा हिँड्नुपर्छ ।

हिँडाइको पीडा दुवैलाई उत्तिकै हो । तर उनीहरुले पाउने तलबभत्ता भने फरक छ । रोकाया ३२ हजार ९०२ स्केलमा छ हजार चारसय ६० रुपैयाँ दुर्गमभत्ता जोडेर तलब पाउँछन् । चौधरीले ३२ हजार ९०२ रुपैयाँमै चित्त बुझाउँछिन् ।
‘घरदेखि स्कूल आइपुग्न कम्तिमा तीनदिन लाग्छ’, चौधरी भन्छिन्, ‘हामी तराईको मान्छे, यहाँ भीरको बाटो देख्दैमा डरले खुट्टा काम्छ ।

यस्तो दुर्गम ठाउँ छ, तर दुर्गमभत्ता रहेनछ । साथीहरुले हामी बेजिल्लाबाट आएको मान्छेले नियुक्ति लिँदा दुर्गम भत्ता पाउने ठाउँ रोजौँ, दुईचार पैसा भने पनि बचाउन सकिन्छ भनेर सल्लाह गरेका थियौँ । धार्चेको दुङ्ला र हुलचुक एकैतिर हो भन्ने सुनेको थिएँ । हो पनि रहेछ, । उतातिर दुर्गमभत्ता रहेछ तर यतातिर रहेनछ ।’ दुर्गमभत्तामा असाध्यै भेदभाव रहेको उनको गुनासो छ ।

गोरखामा यस्ता धेरै गाउँ छन्, जहाँ सदरमुकामबाट नजिकलाई दुर्गमभत्ता छ, टाढालाई छैन । ‘यो बर्ष त हाम्रो गाउँमा पनि मोटरबाटो खनिँदै छ । अब त दुर्गम भत्ता पनि पाइन्छ कि ?’ सरकारको भेदभावपूर्ण नीतिप्रति व्याङ्ग्य गर्दै दुङ्ला आधारभूत विद्यालयका प्रअ जीतलाल गुरुङ भन्छन्, ‘कताकता तल पर्ने मान्बुमा दुर्गम भत्ता छ, लाप्राकमा पनि छ, हाम्रो दुङ्लामा छैन । मान्बुमा पनि मोटर चल्छ, लाप्राकमा पनि मोटर चल्छ, हाम्रोमा अहिलेसम्म मोटरबाटो पनि छैन ।

हाम्रोतिर सुगम, उतातिर दुर्गम कसरी भयो ? यस्तो नियम कसले बनायो ?’ सरकारले हाम्रो ठाउँ कहाँ छ भनेर नदेखेको उनले गुनासो गरे ।

‘हुन त हामीले खटाएको ठाउँमा काम गर्छौँ भनेर नियुक्ति लिएका हौँ, तर हाम्रोभन्दा धेरै सुगम ठाउँमा दुर्गमभत्ताको व्यवस्था हुने, हाम्रोतिर त्यो व्यवस्था नहुँदा चित्तचाहिँ नबुझ्ने रहेछ’, दुङ्ला आधारभूत विद्यालयका शिक्षक जमुना भारतीले भने ।
यो भन्दा ठूलो चोट धार्चे गाउँपालिका ६ काशिगाउँका शिक्षक कर्मचारीलाई छ ।

त्यहाँका स्थायी शिक्षक, कर्मचारीहरुले २०७३ सालसम्म दुर्गम भत्ता पाउँथे, तर अचेल पाउँदैनन् । ‘हाम्रो वडामा कार्यरत शिक्षक, कर्मचारीले खाइपाई आएको दुर्गमभत्ता २०७३ सालपछि कसरी काटियो पत्तै भएन ।

किन काटियो भनेर सोधखोज गर्न धेरै ठाउँमा, धेरैचोटी धाइयो तर केहीसीप चलेन’, मञ्जुश्री माविका प्रअ धनमान गुरुङ भन्छन्, ‘सीमाना जोडिएको हाम्रोभन्दा तलको आरुघाट वडा नं. १ र २ मा पनि दुर्गमभत्ता छ, हाम्रोसंगै जोडिएको हामीभन्दा माथि धार्चेकै वडा नं. १ र २ मा पनि भत्ताको व्यवस्था छ, हामी बीचको वडाको मात्र कसरी खोसियो ? यसको उत्तर कतैबाट पाउन सकेका छैनौँ ।’

यसअघि वडा सचिव, स्वास्थ्य कर्मी, कृषि तथा पशु सेवाका कर्मचारी, प्राविधिक, शिक्षकलगायतका सरकारी स्थायी कर्मचारीहरुले दुर्गमभत्ता पाउने वडाअध्यक्ष धनकुमार घलेले बताए । राष्टूसेवक कर्मचारीले खाइपाई आएको सेवा सुविधा काटिँदा दुर्गम गाउँठाउँमा कर्मचारी आउन नमान्ने, आए पनि सरुवा मागेर गइहाल्ने समस्या रहेको उनको गुनासो छ ।
दुर्गमभत्तामा चरम भेदभाव भएको बारे गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ बताउँछन् ।

‘उस्तै भूगोल कतै दुर्गमभत्ता दिने, कतै नदिने गर्नु भएन । राष्टूसेवक शिक्षक, कर्मचारीले खाइपाई आएको सेवा सुविधा काटिनु झन दुखद कुरा हो भनेर गृहमन्त्रीको ध्यानाकर्षण गराएको छु’ उनले भने, ‘हामीले हाम्रो ठाउँबाट पहल गरिरहेको हो, खै के हुन्छ, हेरौँ ।’

प्रतिक्रिया दिनुहोस्