भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै गोरखामा प्रदर्शन
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै माओवादी केन्द्र निकट जनवर्गीय संगठनले प्रदर्शन गरेका छन् ।
वाइसीयल नेपाल जिल्ला समन्वय समिति गोरखाको आयोजना तथा अखिल क्रान्तिकारी गोरखाको सहभागितामा नक्कली भुटानी शरणार्थीसहित विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका सबै दोषीहरूलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले ‘टोपबहादुर रायमाझी खोई ?, भ्रष्टाचार जघन्य अपराध हो, आइ एम विथ प्रचण्ड’ लगायत नारा लगाएका थिए ।

शुक्रबार ¥याली गर्दै वाइसीएलका नेता कार्यकर्ताले हरमटारीमा कोणसभा समेत गरेका छन् । कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डेले भ्रष्टचारी विरोधी सरकारको कदममा आफुहरुको समर्थन रहेको बताए । वाइसीयल नेपाल जिल्ला समन्वय समिति गोरखाका संयोजक सागर श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्न सरकार कुनै पनि हालतमा पछि हट्न नहुने अभिव्यक्ति दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलहरुकै नाम जोडिएपछि जनमानसमा उच्च राजनीतिक संरक्षणमा त्यसै छाडिने हो कि भन्ने आशंका व्याप्त छ । यसै क्रममा विभिन्न राजनीतिक दल, दलका भातृ संघ संगठन, नागरिक समाज लगायतले दोषीलाई कानुनी कारवाहीको माग गर्दै दवावमूलक प्रदर्शन गरिरहेका छन् ।




